काठमाडौं । बैंक तथा वित्तीय संस्थाले दिने सेयरधितो कर्जामा भारी वृद्धि भएको छ । गएको जेठसम्म सेयरधितो कर्जा ८७.६ प्रतिशतले बढेको छ । सेयरधितो कर्जा बढेर ९४ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । साउनदेखि जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले ४४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ कर्जा लगानी बढाएका छन् ।
अघिल्लो वर्षको जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए । १ करोड रुपैयाँ माथिको कर्जा १०३, ५० लाखदेखि १ करोडसम्म ७६.८ २५ लाखदेखि ५० लाखसम्म ६७.९ र २५ लाख रुपैयाँसम्मको सेयरधितो कर्जामा ३०.५ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकले सेयरधितो कर्जामा केही खुकुलो गरेपछि यसको सकारात्मक असर बजारमा परेको हो । अन्य क्षेत्रबाट कर्जाको माग नआएपछि बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा आक्रामक लगानी गरेका हुन् । बैंकमा निक्षेप थुप्रिने र अन्य क्षेत्रबाट कर्जाको माग हुन छाडेपछि बैंकहरूले प्रमुख लगानीको क्षेत्र सेयर बजारलाई छान्दा बढेको हो । गत आर्थिक वर्षको सुरुआतबाटै सेयर कारोबार उछाल आउन थालेपछि बैंकले पनि लगानीको क्षेत्र यसलाई मान्दै आएका छन् ।
कोरोना भाइरस महामारीका कारण अन्य लगानीका क्षेत्रबाट ऋण माग भएन । त्यसैका कारण अधिक तरलता हुन थालेपछि साउनदेखि नै बैंक तथा वित्तीय संस्थाहरूले सेयर कर्जामा व्यापक लगानी बढाए । एकातिर कर्जाको ब्याजदर पनि घट्यो र अर्काेतिर बैंकमा अधिक तरलता हुन थालेपछि बैंकको प्रमुख लगानीको क्षेत्र सेयर बजार बन्न पुगेको बताइएको छ ।
गएको जेठ ३१ गते सेयर बजार बढेर नयाँ रेकर्ड कायम गरेको छ । बजार बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०२५ अंकमा पुग्यो । यस्तै कारोबार रकम पनि हालसम्मकै उच्च अर्थात १९ अर्ब ९५ करोड रुपैयाँ पुगेको थियो । गत आर्थिक वर्षको अन्तिम दिन बिहीबार बजार २८८३ अंकमा रहेको छ । राष्ट्र बैंकले सेयरधितो कर्जा सीमा बढाएर ७० प्रतिशत पुर्याएको छ । सेयर बजार बढेपछि गत आर्थिक वर्षमा सरकारले १४ अर्ब रुपैयाँ राजस्व प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
सेयर बजारमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता बढेसँगै सरकारले पुँजीगत लाभकरको सीमा पनि बढाएको छ । गाउँ–गाउँबाट युवा जनशक्ति सेयर बजारमा प्रवेश गरेपछि सरकारले साउन १ गतेदेखि लागू हुने गरी पुँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत पुर्याएको छ । सरकारले पुँजीगत लाभकरलाई राजस्वको प्रमुख स्रोत बनाउँदै लगेको छ ।
बजारमा बढीभन्दा बढी लगानीकर्तालाई सहभागी हुने वातावरण बनाउने र तिनीहरूबाटै पुँजीगत लाभकर उठाउनेतर्फ अर्थ मन्त्रालयले आफ्नो ध्यान केन्द्रित गरेको छ ।सेयर बजार जहिले पनि पर्याप्त तरलता, स्थिर ब्याजदर, सेयरधितो कर्जाको सीमा र सेयर गणनाा विधिमा हुने परिवर्तनमा निर्भर रहने गर्छ ।
सेयर लगानीकर्ताका ३७ लाखवटा डिम्याट खाता खुलिसकेका छन् । ७ लाख लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरिरहेका छन् । अहिले झण्डै ९० प्रतिशत लगानीकर्ताले अनलाइनबाट सेयर कारोबार गरिरहेका छन् ।
पुँजी बजारको आकार बढेर बजेटको अढाइ गुणा ठूलो भइसकेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८५ प्रतिशत हिस्सा पुगेको छ । ३७ लाख डिम्याट र ७ लाख अनलाइन कारोबारसमेत गरी देशको कुल जनसंख्या मध्ये १५ प्रतिशत सेयर बजारमा प्रवेश गरिसकेका छन् ।
पुँजीबजार विस्तार हुन थालेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । पछिल्लो समय बजारमा लगानीकर्ताको प्रवेश बढेकाले यसको असर कारोबारमा परेको उनको भनाइ छ । सेयर बजारलाई अझ व्यापक बनाउन नेपाल धितोपत्र बोर्डले वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको अनुमतिपत्र (लाइसेन्स) दिनुपर्ने रौनियार बताउँछन् ।