काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सिमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले यूएनडीपीको प्रयास कार्यक्रमअन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीलाई यूएनडीपीले उपलब्ध गराउने रकम बैंक खाता मार्फत भुक्तानी जनाएको छ ।
साथै उक्त कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीमध्ये उद्यम गर्न चाहने विपन्नलाई बैंकले सहुलियपूर्ण कर्जाको व्यवस्था गर्ने बैंंकका सीईओ श्रेष्ठले बताए । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन उक्त कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।
यूएनडीपी नेपालका प्रतिनिधि लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार ५ सय घरधुरीलाई सहयोग गर्ने बताएकी छन् ।
सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायव उपकार्यकरी अधिकृत देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरू, कम्पनी सचिव, यूएनडिपी नेपालका सहायक आवसीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगरलगायतको उपस्थिति रहेको थियो ।