काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदर घटाएको छ । नयाँ ब्याजदर साउन १ गते शुक्रबारदेखि लागुूभएको छ । सञ्चय कोषले बचत र कर्जा दुबैको ब्याजदर घटाएको हो । यस्तै जलविद्युत आयोजनाहरुलाई दिने कर्जाको ब्याजदर पनि घटेको छ ।
कोषले सञ्चयकर्तालाई बचतमा दिने ब्याजदर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । गत आर्थिक वर्षमा ७ प्रतिशत थियो । यसमा ०.५ प्रतिशत विन्दुले घटेको कोषले जनाएको छ । यस्तै कोषले सञ्चयकर्तालाई दिने कर्जाको ब्याजदर पनि घटेर ७.७५ प्रतिशत कायम गरेको छ । गत आर्थिक वर्षमा कोषले सञ्चयकर्ताहरुबाट ८.२५ प्रतिशत ब्याज लिएको थियो ।
जलविद्युतलगायत विभिन्न परियोजनामा प्रवाह हुने कर्जाको ब्याज पनि घटेको कोषले जनाएको छ । कोषका अनुसार आयोजनाको ब्याजदर घटाएर ९ प्रतिशत कायम गरिएको छ । गत वर्ष आयोजनाको ब्याजदर ९.५ प्रतिशत थियो । यसमा पनि ०.५ प्रतिशत विन्दुले घटेको छ ।
ब्याजदर अन्तर (स्प्रेड) पनि घटेर १.१ प्रतिशत मात्र हुने भएको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ ।
नयाँ ब्याजदर माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेन र मध्य भोटेकोसीलगायत कोषले लगानी गरेका सबै आयोजनामा लागु नहुने भएको छ । चालू आर्थिक वर्षमा कर्जा लिन सम्झौता गरेका आयोजनाहरुले मात्र सो ब्याजदरमा कर्जा पाउने छन् ।
कोषको हालै बसेको सञ्चालक समिति बैठकले ब्याजदर घटाउने निर्णय गरेको थियो । सञ्चालक समितिले पारित गरे पनि ‘माइन्यूट’ नभएकाले सार्वजनिक गरिएको छैन । सञ्चय कोषले गठन गरेको ब्याजदर पुनरावलोकन समितिले घटाउन सिफारिस गरेपछि कम गरेको हो ।निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक र निजी व्यावसायिक प्रतिष्ठानलगायत गरी ६ लाख बढी सञ्चय कोषमा आबद्ध छन् ।
सञ्चयकर्ताले पाउने लाभांश घट्ने
कोषले गत आर्थिक वर्षमा सञ्चयकर्तालाई दिने ब्याजमा ७ प्रतिशत र १ प्रतिशत नाफाबाट लाभांश दिएको थियो । यो दर बैंकहरूले दिने मुद्दतीको भन्दा बढी हो । यसैगरी सञ्चयकर्तालाई साढे ८ प्रतिशत ब्याजमा आवास निर्माणलगायत अन्य कर्जा दिएको थियो । कोषको मुख्य आम्दानीको स्रोत मुद्दती निक्षेप रहेको छ ।
मुद्दती निक्षेपको ब्याजदरमा भारी गिरावट आएपछि सञ्चय कोषको आम्दानी र नाफामा कमी आएको छ । कोषलाई बैंकहरूले दिने मुद्दती निक्षेपको औसत ब्याजदर ७.५ प्रतिशत हाराहारीमा छ । ३ वर्ष अघिसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) का कारण कोषले मुद्दती निक्षेप र परियोजना कर्जामा १२ प्रतिशतसम्म ब्याज लिने गरेको थियो । त्यसपछि निरन्तर घटाउँदै लगेको छ ।
यस्तै नेपाल वायुसेवा निगमले निगमले तिर्नुपर्ने ब्याज मात्रै २ अर्ब ३० करोड रुपैयाँ बाँकी छ । सञ्चय कोषले सरकारको जमानीमा साढे २६ अर्ब रुपैयाँ विमान खरिद गर्न कर्जा दिएको थियो । कोरोना महामारीले गर्दा कर्जाको ब्याज प्राप्त भएको छैन । यदी नपाएमा सो रकम बराबरको प्रोभिजनिङ गर्नुपर्ने हुन्छ ।
सरकारले निगमको ब्याज तिरिदिने भने पनि कर्मचारी आन्दोलनले गर्दा गुम्ने अवस्था आएको छ । यसले गर्दा कोषको नाफामा असर पर्ने देखिएको छ । निगमले ब्याज भुत्तानी नगरे सञ्चय कोषले सञ्चयकर्तालाई लाभांश बाँड्न नपाउने संभावना छ ।
यस्तै वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । चालू आर्थिक वर्षको ११ महिनामा ब्याजदर घटेर ८.४६ प्रतिशतमा सीमित भएको छ । गत वर्षको यसै अवधिमा औसत ब्याजदर १०.४३ प्रतिशत थियो । बैंकहरुको आधार दर कम भएपछि यसको असर ब्याजदरमा परेको हो ।
२०७७ जेठमा आधारदर ८.६६ प्रतिशत रहेकोमा २०७८ जेठमा घटेर ६.६६ प्रतिशत कायम भएको छ । २०७८ जेठमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर पनि घटेर ४.७२ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही महिनामा निक्षेपको औसत ब्याजदर ६.१७ प्रतिशत थियो । मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७८ जेठमा ३२४ प्रतिशत छ ।
यो पनि हेर्नुहोस
सञ्चय कोषले घटाउने भयो ब्याजदर, साउन १ गतेदेखि लागू हुने
सञ्चय कोषले थाल्यो ब्याजदर पुनरावलोकन, साउनदेखि नयाँ दर लागू हुने