विराटनगर । उद्योग सङ्गठन मोरङले ‘स्टार्टअप एन्ड इनोभेसन’ कार्यक्रम सुरु गरेको छ । सङ्गठनका कार्यकारी सदस्य सुरेन्द्र गोल्छाको संयोजकत्वमा स्टार्टअप तथा इनोभेसन समितिको गठन गरेको छ ।
सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले ५०० आवेदनको अपेक्षा गरिएको बताए । त्यसमध्येका १०० आवेदनलाई यथार्थ र सम्भाव्यताका आधारमा पहिले छनौट गरिनेछ । यसपछि बिस्तारै छनौटको प्रक्रिया बढाइनेछ ।
आवेदकलाई छनौट गरिसकेपछि उसलाई लगानी, मार्केटिङ, ब्रान्डिङ र अन्य कानुनी विषयमा पनि सहयोग गरिनेछ । अध्यक्ष प्याकुरेलले परियोजनाको छनौट गरिसकेपछि लगानी गर्न नबिल बैंकलाई कार्यक्रमको साझेदार बनाइएको जानकारी दिए ।
नबिल बैंकका प्रदेश नम्बर १ का प्रमुख सुबोध लोहनीका अनुसार कृषिमा १५ लाख रुपैयाँ बिना धितो ऋण प्रदान गर्न बैंक तयार रहेको बताए ।
प्रमुख लोहनीका अनुसार यस्तो ऋणमा लाग्ने ८ प्रतिशत ब्याजमा सरकारले ५ प्रतिशत ब्यहोर्ने हुँदा ऋणीलाई लाग्ने वास्तविक ब्याज ३ प्रतिशत हुन आउँछ । उनले ३ प्रतिशत ब्याजमा ५ वर्षमा १५ लाख रुपैयाँ किस्ता तिरिसक्नु भनेको अत्यन्त सहुलियत दरमा ऋण प्रांप्त गर्नु हो भन्ने धारणा राखे।
उनले गैर कृषि क्षेत्रमा २५ लाख रुपैयाँ ऋणका लागि भने धितो राख्नुपर्ने उल्लेख गरे । सङ्गठनका कार्यक्रम संयोजक गोल्छाले कार्यक्रमको अवधि १८ महिना हुने जानकारी गराए ।
संयोजक गोल्छाका अनुसार नवीन व्यावसायिक अवधारणा भएका तथा बढीमा २ वर्ष अघिदेखि सञ्चालनमा रही स्तरोन्नतिका सम्भावना भएका सुरुआती अवस्थाका नयाँ उद्यमहरू कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
यो कार्यक्रमले नवीन व्यावसायिक अवधारणा, स्तरोन्नति तथा अनुशरण गर्ने सम्भावना भएका र स्थानीय कच्चा पदार्थमा आधारित र कृषि तथा कृषिजन्य व्यवसायको शृङ्खलाभित्र पर्ने उद्यम व्यवसायलाई ग्राह्यता दिइने गरी प्राथमिकता निर्धारण गरेको छ ।
सङ्गठनले यसका लागि आवेदन आह्वान गरिसकेको छ । आवेदन आगामी साउन ३२ गतेभित्रमा दिइसक्नु संगठनले जानकारी दिएको छ ।