काठमाडौं । नेपाल राष्ट्र बैंकले अघि सारेको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष तथा सञ्चालकको उमेर हदसम्बन्धमा दिएको निर्देशन बेवारिसे बनेको छ । केन्द्रीय बैंकका तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालले अघि सारेको सीईओ र सञ्चालकको उमेर हद तोक्ने प्रस्ताव अदालत र संघीय संसदका कारण अलपत्र परेको हो ।
राष्ट्र बैंकको सो निर्देशन अहिले कार्यान्वयनमा छ कि छैन भन्ने अन्योलसमेत धेरैमा छ । खासगरी केन्द्रीय बैंकले तोकेको उमेर समूह छेउछाउ भएका सीईओ र सञ्चालकहरु पुनः नियुक्तिका लागि बसे पनि पुरानो निर्देशनले काम गर्छ कि गर्दैन भन्ने अन्योलका कारण उचित निर्णय लिन डराएको बताइन्छ ।
२०७६ साउन २० गते एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सीईओ/सञ्चालकहरुको उमेर हद लागू गरेको थियो । तर, बैंकरहरु तत्कालै राष्ट्र बैंकको निर्देशनविरुद्ध सर्वोच्च अदालतमा गए ।
प्राइम कमर्सियल बैंकका सीईओ नारायणदास मानन्धर, नबिल बैंकका तत्कालीन अध्यक्ष स्व. शम्भुप्रसाद पौडेललगायतको मुद्दामा सुनुवाइ गर्दै तत्काल उमेर हद लागू नगर्न र कानुन बनाएर मात्र लागू गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।
तर, सर्वोच्चको अन्तरिम आदेशविरुद्ध राष्ट्र बैंक ‘भ्याकेट’मा नगए पनि एकीकृत निर्देशनलाई भने निरन्तरता दिइरहेको छ । अझ केन्द्रीय बैंकले गाभ्ने÷गाभिने संस्थाको हकमा भने उमेर हद लागू नहुने भनेर निर्देशनमा केही खुकुलो गर्दै आएको छ ।
सुरुवाती निर्देशनमा २०७७ असारभित्र एकीकृत कारोबार गरेमा उमेर हद लागू नहुने भनिएकोमा एकीकृत निर्देशन २०७७ मा २०७८ असारभित्र एकीकरण भएका संस्थामा एक पटकका लागि सीईओको उमेर हद लागू नहुने उल्लेख छ । अहिले पनि केही बैंक तथा वित्तीय संस्थामा केन्द्रीय बैंकले तोकेको सीमाभन्दा बढी उमेर समूहका सञ्चालक र सीईओ कार्यरत छन् ।
केन्द्रीय बैंकको निर्देशन कार्यान्वयनमा छ कि छैन भन्ने आशंका ग्लोबल आइएमई बैंकको सीईओमा रत्नराज (आरआर) बज्राचार्य नियुक्त भएदेखि नै देखिएको छ । बज्राचार्यले २०७७ साउनमा नियुक्ति लिएर भदौ २ गतेदेखि ग्लोबलको सीईओको जिम्मेवारी सम्हालिरहेका छन् । २०७६ मंसिर २० गतेदेखि ग्लोबल आइएमई बैंक र जनता बैंक एकाआपसमा गाभिई एकीकृत कारोबार सुरु गरेको थियो ।
ग्लोबल आइएमई र जनता बैंक एकीकृत भएपछि बनेको ग्लोबल आइएमईमा तत्कालीन जनता बैंकका सीईओ परशुराम कुँवर क्षेत्रीले सीईओको जिम्मेवारी निभाएका थिए । तर, बीचैमा क्षेत्रीले छोडेपछि बज्राचार्यलाई ल्याइएको हो । बज्राचार्यले ग्लोबलमा नियुक्ति लिनुअघिको उमेर नै ६५ वर्षभन्दा बढी छ । हाल उनी ६९ वर्षका भैसकेका छन् ।
उनले ग्लोबल आइएमई बैंकलाई बुझाएको नागरिकता र पासपोर्टमा उनको जन्ममिति २००९ मंसिर १८ गते छ । बज्राचार्य बैकिङ क्षेत्रमा ‘कम्प्ल्यान्स’ एकदम राम्रो भएको सीईओ मानिन्छन् ।
त्यस्तै प्राइम कमर्शियल बैंकका सीईओ नारायणदासको उमेर हाल ७६ वर्ष भैसकेको छ । राष्ट्र बैंकले नियम ल्याउँदा उनी ७४ वर्षका थिए । उनी सीईओ नियुक्त भएपछि नयाँ नियमका कारण ७ दिनमै बाहिरिनु परेको थियो । पछि अदालतको अन्तरिम आदेशबाट उनी पुनबर्हाली भएका थिए ।
‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया), २०७३’ लाई संशोधन प्रक्रिया अघि बढाएर राष्ट्र बैंकले सीईओ तथा सञ्चालकको उमेर हदसम्बन्धित निर्देशिका ल्याएको थियो । बाफिया मन्त्रिपरिषदमा रहेका बेला जारी निर्देशनले बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र सीईओको उमेर हद तोकेको थियो ।
तर, प्राइम कमर्सियल बैंकका सीईओ, नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेललगायतले सर्वोच्चको ढोका ढक्ढक्याए । लगत्तै अदालतले सीईओ र सञ्चालकहरुका पक्षमा अन्तरिम आदेश जारी गर्दै बैंक तथा वित्तीय संस्थाका सीईओ र सञ्चालकको उमेर हद निर्देशिकाका आधारमा नभई कानुन बनाएर मात्र लागू गर्न भनेको छ ।
उता, वाफिया संशोधन प्रक्रिया प्रतिनिधिसभा विघटन भएका कारण अलपत्र परेको छ । सर्वाेच्चले असार २८ गते ७ दिनभित्र प्रतिनिधिसभा बोलाउन फैसला गरेको छ ।
हालको वाफियामा सञ्चालकको अयोग्यतामा २५ वर्ष पूरा नभएको व्यवस्था छ । तर, संशोधनका लागि संघीय संसदमा विचाराधीन रहेको प्रस्तावित विधेयक बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ मा सञ्चालकको अयोग्यतामा ६५ वर्ष पूरा भएको पनि राखिएको छ ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भने ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओ नियुक्त÷पुनः नियुक्त हुन नसक्ने र ६९ वर्ष नाघेको व्यक्ति सीईओको रुपमा बहाल रहन नसक्ने व्यवस्था छ । तर, गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको सीईओमा नियुक्त/पुनः नियुक्त हुन बाधा नपर्ने उल्लेख छ ।
बज्राचार्य यही प्रावधानलाई टेकेर ग्लोबलमा सीईओ भएका हुन् । तर, असार मसान्त सकिनै लाग्दा ग्लोबलमा नयाँ मर्जर प्राप्तिका विषयमा कुनै छलफल भने भएको छैन । पहिला नै भएको मर्जरलाई मान्ने कि नमान्ने भन्ने अन्योल भने राष्ट्र बैंकलाई छ ।
त्यसैगरी निर्देशनमा ७० वर्ष नाघेको व्यक्ति वित्तीय संस्थाको सञ्चालक पदमा नियुक्त/पुनः नियुक्त तथा मनोनीत हुन नसक्ने र ७४ वर्ष नाघेको व्यक्ति सञ्चालक पदमा बहाल रहन नसक्ने व्यवस्था छ । तर, गाम्ने/गाभिने संस्था भए पनि सञ्चालकका लागि थप व्यवस्था केही गरिएको छैन ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले निर्देशन जारी भएको तर सर्वाेच्चमा मुद्दा परेपछि निर्देशनको त्यो दफा अहिले कार्यान्वयन नभएको संक्षिप्त प्रतिक्रिया दिए ।
राष्ट्र बैंकका अर्काे एक निर्देशकले अब अरु कुनै बैंकले ६५ माथिको सीईओ नियुक्ति गर्यो भने त्यसलाई सहमति दिने कि नदिने भन्ने विषय नै अहिले अन्योल रहेको बताए । ‘आरआर र नारायणजीलाई हटाउन सकिँदैन नयाँ नियुक्तिमा सहमति पनि दिन सक्ने अवस्था छैन,’ उनले भने ।
राष्ट्र बैंकले आरआर बज्राचार्य र नारायणदास मानन्धरले स्वविवेक राजीनामा दिउन भन्ने चाहना राखेको छ । अहिले भैरहेकाले राजीनामा दिएपछि नयाँ नियुक्तिमा कडाई गर्न सकिन्छ, नत्र फ्याट्ट कसैले नियुक्ती गर्यो भने के गर्ने भन्ने अन्योल भने रहेको ती निर्देशकले बताए ।