काठमाडौं । संस्थापकतर्फका करिब ७० प्रतिशत लगानीकर्ताले १० वटा बैंकहरूमध्ये एउटासँग सनराइजलाई गाभ्न बैंकका अध्यक्ष मोतिलाल दुगडलाई लिखित दबाब दिएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई एकआपसमा गाभ्ने (मर्जर) नीति अख्तियार गरिरहेको छ । आगामी दिनमा साना बैंकलाई सरभाईभ गर्नै अप्ठयारो स्थिति आउने भएकाले अहिले नै १० ठूला बैंकमध्ये एकसँग गाभिएर जाँदा लगानीकर्ताले निकट भविष्यमा राम्रो प्रतिफल पाउने हुँदा जसरी पनि बैंकलाई मर्जमा लैजान उनीहरुले दबाब दिएका हुन् ।
क्यापिटल नेपालले बैंक स्रोतबाट प्राप्त गरेको पत्रमा ठूला लगानीकर्ताले लिखित हस्ताक्षर गरेरै बैंकलाई मर्जमा लैजान दबाब दिएका छन् । लगानीकर्ताले एभरेष्ट, हिमालयन तथा इन्भेष्टमेन्ट, नबिल, सिद्धार्थ, एनआईसी एसिया, एनएमबी, ग्लोबल आइएमई, प्राइम कमर्सियल, प्रभू, सानीमामध्ये कुनै एक बैंकसँग मर्जमा सनराइजलाई लैजानुपर्ने भन्दै अध्यक्ष दुगडलाई लिखित दबाब दिएका हुन् ।
बैंक स्रोतका अनुसार उनीहरुले आइतबार ४ बजे बैंकमा चिठी दर्ता गराएका हुन् । कोरोना महामारीमा पनि समकालीन बैंकको ११ महिनाको वित्तीय विवरण सन्तोषजनक आउँदा सनराइज बैंकको खराब आएको, पछिल्ला केही वर्ष यता बैंकलाई प्रोफेसनल रुपमा अघि बढ्न नदिएको, व्यावसायिक प्रतिस्पर्धामा बैंक उत्रिन नसकेकाले सनराइजलाई अनिवार्य मर्जमा लैजान ठूला लगानीकर्ताले अध्यक्ष दुगडलाई दबाब दिएका हुन् ।
प्राप्त पत्रअनुसार शिवरतन शारडा (शारडा ग्रुप), कैलाशचन्द्र गोयल (गोयल समूह), श्रवणकुमार गोयल, भोगेन्द्रकुमार गुरागाई, शैलेन्द्रकुमार गुरागाई, बच्छराज तातेड (ताडेड समूह), मालचन्द दुगड (टि–एम दुगड सूमह) ले लिखित हस्ताक्षर गर्दै बैंकलाई तोकिएका बैंकमध्ये एउटासँग मर्जमा लैजान अध्यक्षलाई दबाब दिएका हुन् । बैंक स्रोतका अनुसार उनीहरुको संख्या कुल संस्थापक लगानीकर्तामध्ये करिब ७० प्रतिशत हुन आउँछ ।
यो पनि हेर्नुहोस
आन्तरिक झिनाझप्टीले ‘फोर्स मर्जर’को बाटोमा सनराइज बैंक, फेरिए सञ्चालक फेरिएन प्रवृत्ति
सनराइज बैंकका सञ्चालकबीच पुनः विवाद बढ्यो, छलफल गर्न राष्ट्र बैंकले बोलायो
सनराइजमा सञ्चालकबीच सहमति, सीईओमा पौडेल नै, बैंकलाई अझ बलियो बनाएर लैजाने निर्णय
सनराईज बैंक विवादः राष्ट्र बैंकले भन्यो,-‘बीओकेरएनसीसीमा जस्तै हस्तक्षेप गर्न नपरोस्’