काठमाडौं । सुनिलकुमार पोखरेलले शुक्रबारदेखि सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेबारी सम्हालेका छन । जेष्ठ २७ गते बसेको बैंक सञ्चालक समितिको ३४५औं बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको थियो ।
सञ्चालक समितिले असार १८ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको पोखरेललाई सीईओ बनाएको हो । उनी वैशाख १८ गतेदेखि सिभिलको कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । उनी दुई वर्षदेखि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
स्ट्याण्डर्ड चाटर्ड बैंकमा १६ वर्ष, एनआइसी एसिया बैंकमा साढे ५ वर्ष, नबिल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिलमा गरी २४ वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तर्राष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष ३ दशक लामो बैकिङ अनुभव रहेको छ ।
डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयातनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल दिने नव नियुक्त सीईओ पोखरेलले प्रतिवद्धा व्यक्त गरे ।
सीईओ पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पुर्याउने कुरामा आफू विश्वस्त रहेको बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बताए । बैंकले चालु आर्थिक वर्षमा व्यवसायिक आकारमा राम्रो प्रगति गरेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको उनले बताए ।
चालु आर्थिक वर्षको जेठसम्म बैंकले ८८ अर्ब ९४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ८३ अर्ब ६० करोड रुपैयाँ कर्जा विस्तार गरेको छ ।