काठमाडौं । कर्मचारी सञ्चय कोषले ब्याजदर घटाउने भएको छ । सञ्चय कोषले गठन गरेको ब्याजदर पुनरावलोकन कमिटीले घटाउन सिफारिस गरिसकेको छ । साउनदेखि सञ्चयकर्ताहरूबाट लिने र उनीहरूलाई दिने र जलविद्युतलगायत अन्य आयोजनाको ब्याजदर कम हुने सञ्चय कोषका प्रशासक तुलसी गौतमले बताए ।
‘अहिले कति घट्छ भन्न सक्ने अवस्था छैन । बजारको अवस्थाअनुसार घट्ने निश्चित छ,’ उनले क्यापिटल नेपालसँग भने । बैंकहरूको ब्याजदर पनि घटेकाले कोषले पनि कम गर्न लागेको उनले सुनाए । प्रशासक गौतमका अनुसार सञ्चयकर्तालाई दिने र लिनेका साथै ‘प्रोजेक्ट फाइनान्सिङ’को ब्याजदर घट्ने भएको छ ।
सञ्चालक समितिले अनुमोदन गरेपछि नयाँ ब्याजदर लागू हुनेछ । कोषले लगानी गरेका माथिल्लो तामाकोसी, रसुवागढी, मध्य भोटेकोसी र सान्जेनलगायतका जलविद्युत आयोजनाहरूको ब्याजदर पनि कम हुनेछ ।
यो पनि हेर्नुहोस
सञ्चय कोषले थाल्यो ब्याजदर पुनरावलोकन, साउनदेखि नयाँ दर लागू हुने
नयाँ ब्याजदर साउन १ गतेदेखि कार्यान्वयनमा आउने भएको छ । यसअघि कोषले आगामी आर्थिक वर्षका लागि नयाँ ब्याजदर लागू गर्न एक समिति बनाएर सञ्चयकर्ताबाट लिने तथा उनीहरूलाई ऋण लगानी गर्ने र परियोजना कर्जाको ब्याजदरमा पुनरावलोकन गर्न थालेको थियो ।
समितिले दिएको सुझाव अहिले कोषको सञ्चालक समितिमा छलफलको क्रममा रहेको उनले बताए । ‘बैंकहरूले पनि कर्जा र निक्षेप दुवैको ब्याजदर घटाएका छन् । बजारअनुसार कोष पनि चल्नुपर्छ,’ गौतमले भने ।
कोषले चालू आर्थिक वर्षका लागि जलविद्युत आयोजनाको ब्याजदर घटाएर ९.५ प्रतिशतमा झारेको छ । यसअघि १२ प्रतिशत ब्याजदर थियो । कोषको लगानीमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी र ५७ मेगावाटको माथिल्लो र तल्लो सान्जेन जलविद्युत आयोजनाहरू निर्माण भइरहेका छन् ।
ब्याजदर कम भएपछि आयोजनाको लागत केही कम हुनेछ । ५ वटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन् । कोषले तामाकोसीको पेव्याक पिरियड बढाएर १५ वर्ष पुर्याइसकेको छ । निजामती, सेना, प्रहरी, शिक्षक र निजी व्यावसायिक प्रतिष्ठानलगायत गरी ६ लाख बढी आबद्ध छन् ।
कोषले चालू आर्थिक वर्षमा सञ्चयकर्तालाई दिने ब्याजमा ७ प्रतिशत र १ प्रतिशत नाफाबाट लाभांश दिएको छ । लाभांशसमेत गरी कोषले सञ्चयकर्तालाई दिने ब्याजदर ८ प्रतिशत हुन्छ ।
यो दर बैंकहरूले दिने मुद्दतीको भन्दा बढी हो । यसैगरी सञ्चयकर्तालाई साढे ८ प्रतिशत ब्याजमा आवास निर्माणलगायत अन्य कर्जा दिएको छ । यसको ब्याजदरमा पुनरावलोकन हुनेछ ।
कोषको मुख्य आम्दानीको स्रोत मुद्दती निक्षेप रहेको छ । मुद्दती निक्षेपको ब्याजदरमा भारी गिरावट आएपछि सञ्चय कोषको आम्दानी र नाफामा कमी आएको छ ।
कोषलाई बैंकहरूले दिने मुद्दती निक्षेपको औसत ब्याजदर ७.५ प्रतिशत हाराहारीमा छ । ३ वर्ष अघिसम्म बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रञ्च) का कारण कोषले मुद्दती निक्षेप र परियोजना कर्जामा १२ प्रतिशतसम्म ब्याज लिने गरेको थियो । त्यसपछि निरन्तर घटाउँदै लगेको छ ।
वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ । चालू आर्थिक वर्षको १० महिनामा कर्जाको औसत ब्याजदर घटेर ८.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जाको औसत ब्याजदर १०.९९ प्रतिशत थियो ।
बैंकहरूको आधारदर घटेपछि ब्याजदर कम हुन पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकका अनुसार आधारदर घटेर ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा आधारदर ८.९६ प्रतिशत थियो ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.८१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेपको औसत ब्याजदर ६.४४ प्रतिशत थियो ।
\जलविद्युत आयोजनाहरूमा सञ्चय कोषले ३० अर्ब रुपैयाँ बढी ऋण लगानी गरेको छ । गत वर्षसम्म कोषले २७ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । ब्याजदर घटेपछि आयोजनाको लागत कम हुने भएको छ । नयाँ बन्ने आयोजनाले पनि सस्तो ब्याजमा कोषबाट ऋण पाउने भएका छन् ।
गत वर्ष मात्रै कोषले विभिन्न बैंक तथा वित्तीय संस्थामा ७५ अर्ब रुपैयाँ बढी मुद्दती निक्षेप राखेको थियो । सञ्चय कोष बैंकहरूको सबैभन्दा ठूलो संस्थागत निक्षेपकर्ता हो ।
चालू आर्थिक वर्षदेखि कोषले निक्षेप–कर्जाको ब्याजदरअनुपात (स्प्रेड) दर १.२५ प्रतिशत मात्र राखेको छ । गत वर्ष सञ्चय कोषको नाफा १७.३४ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्षमा सञ्चय कोषले ३ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कोषको नाफा ४ अर्ब ४४ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ७७ करोड रुपैयाँ कम भएको छ ।