काठमाडौं । निषेधाज्ञाले आर्थिक गतिविधि प्रायः ठप्प भएको अवस्थामा पनि कर्जा प्रवाह बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथि निगरानी बढाएको छ । आइतबारदेखि राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा ठूलो कर्जा प्रवाहको दैनिक विवरण मागेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले अहिले ५० लाख रुपैयाँभन्दा ठूलो रकमको कर्जा प्रवाहकको विवरण दैनिक राष्ट्र बैंकमा बुझाउन थालेका छन् ।
निषेधाज्ञाले गर्दा आर्थिक गतिविधि ठप्प भएको अवस्थामा पनि कर्जा विस्तार अधिक भएपछि बैंक तथा वित्तीय संस्थाहरूसँग ऋण लगानीको विवरण माग्न थालेको केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकले कर्जाको माग बढेको क्षेत्र र कर्जाको गुणस्तर परीक्षण गर्न ५० लाख रुपैयाँभन्दा ठूला कर्जा प्रवाहको विवरण मागेको स्रोतले बतायो । ‘केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तयारीमा रहेकाले कस्तो क्षेत्रमा कर्जाको माग भएको छ, त्यसको अध्ययन गर्न खोजेको हो’ स्रोतले क्यापिटल नेपाललाई भन्यो ‘दैनिक विवरण मागेर बैंकहरूलाई नैतिक दबाब बढाइएको छ । बैंकहरूले आफूलाई ‘प्रुडियन्ट’ बनाउन भन्ने सोच पनि हो ।’
नेपाल बैंकर्स संघले दिएको जानकारीअनुसार कोरोना भाइरसको दोस्रो लहर सुरु लगत्तै जारी गरिएको निषेधाज्ञापछि बैंक तथा वित्तीय संस्थाहरूले थप ६७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वैशाख १० गतेपछि कर्जा प्रवाह ३५ खर्ब ८३ अर्ब रुपैयाँ थियो । असार ४ गते शुक्रबारसम्म बढेर ३६ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
यसअवधिमा बैंकहरूको निक्षेप परिचालन झण्डै ७० अर्ब रुपैयाँ बढेको छ । वैशाखको दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थाले ३९ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेकोमा असार ४ गतेसम्म बढेर ३९ खर्ब ९१ अर्ब रुपैयाँ गरेको संघले जनाएको छ ।
लगानीको क्षेत्र खुम्चिएपछि पछिल्लो समयमा सेयर कर्जा बढेको छ । बैंकहरूले सेयरधितोमा कर्जा प्रवाह बढाएको केन्द्रीय बैंकको ठहर छ । यस्तै ओभरड्राफ्ट, टर्मलोन र चालुपुँजी कर्जा बढी प्रवाह भएको केन्द्रीय बैंकको भनाइ । ओभरड्राफ्टमा गएका कर्जा घरजग्गा, सेयर बजारलगायत अन्य अनुत्पादनक क्षेत्रमा गएको हुनसक्ने केन्द्रीय बैंकको भनाइ छ ।
साउनयता हालसम्म ८ खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । प्रवाह भएको कर्जाको झण्डै ६० प्रतिशत हिस्सा ३ शीर्षकको छ । कर्जा विस्तार भएपछि सेयर बजार बढ्दै गएको छ । चालू आर्थिक वर्षको वैशाखसम्मको अवस्था हेर्दा कर्जा विस्तार २३.५ प्रतिशतले बढेको छ ।
कर्जा प्रवाह बढेपछि बैंकिङ प्रणालीमा तरलता घटेर २५ अर्ब रुपैयाँ हारहारीमा पुगेको छ । बैंकहरूकले तरलतामा चाप परेको भन्न थालेका छन् । यसले गर्दा अल्पकालीन रूपमा ब्याजदर केही माथि जाने संभावना रहन्छ ।
यो आर्थिक वर्षमा २५ प्रतिशतभन्दा बढीले कर्जा विस्तार हुने आंकलन केन्द्रीय बैंकको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रतर्फको कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएकोमा सीमा कटिसकेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १४.३ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी २३.६ प्रतिशतले बढेको छ ।