काठमाडौं । सम्पूर्ण आर्थिक गतिविधि ठप्प हुँदा पनि बैंकको व्यवसाय २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले लकडाउन गरे पनि केही क्षेत्रबाट कर्जाको माग बढेपछि लगानी व्यवसाय २५ प्रतिशतले बढेको हो ।
खासगरी, नयाँ क्षेत्रमा गरिएको लगानीबाट उठ्नुपर्ने ब्याज तथा साँवासमेत समयमै भुक्तानी भएकाले आम्दानी पनि बढेको बैंकर संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘कोरोना महामारीकाबीच पनि बैंकले आफ्नो व्यवसाय विस्तार पनि गरेका छन् । गत वर्षको तुलनामा चालू आवको हालसम्म २५ प्रतिशत व्यवसाय बढेको देखिन्छ,’ दाहालले भने, ‘व्यवसाय विस्तार हुने बित्तिकै नाफा पनि बढ्छ ।’
अहिले एलसीको काम भइरहेको छ । त्यहाँबाट बैंकले आम्दानीसँगै व्यापार पनि बढाएका छन् । त्यसैगरी, सेयर कर्जामा पनि लगानी गरेका छन् । सेयर कर्जामा गरिएको लगानीबाट बैंकले राम्रो रिर्टन पाइरहेका छन् ।
अन्य सबै क्षेत्र ठप्प हुँदा पनि सेयर बजार चम्किरहेको छ । सेयर कर्जा लिनेहरूले समयमै साँवा ब्याज भुक्तानी गरिरहेका छन् । त्यही भएर बैंकहरूले पनि अन्य क्षेत्रभन्दा सेयर बजारमै लगानी बढाइरहेको पनि देखिन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब ४८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँ मात्रै सेयर कर्जा प्रवाह भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म सेयर कर्जामा प्रवाह भएको रकम ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा यो रकम ५० अर्ब ४० करोड रुपैयाँ मात्रै थियो ।
चालू आर्थिक वर्षको ९ महिनामा सेयर कर्जा ८२ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मार्जिन लेन्डिङमा केही सहज बनाएका कारण सेयर कर्जा बढेको बैंकरहरू बताउँछन् । त्यसैगरी चालू आर्थिक वर्षको १० महिनामा २७ वटा वाणिज्य बैंकहरूले ५५ अर्ब रुपैयाँ नाफा कमाएका छन् ।