काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्स प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बिहीबार बैंकको सम्पन्न विशेष साधारणसभाले सिर्जना फाइनान्स र बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको हो ।
सिर्जना फाइनान्सको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात गरेको छ । बैंकका अध्यक्ष राजनसिंह भण्डारीले राखेको सिर्जना फाइनान्स प्राप्ति ९एक्विजिसन० गर्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बैंकले जनाएको छ ।
विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त, सिर्जना फाइनान्स लिमिटेडको विशेष साधारणसभाले पनि सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ ।
बैंक तथा फाइनान्सको विशेष साधारणसभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्न बाटो खुलेको हो । यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार गर्ने तयारी भइरहेको भण्डारीले बताए ।
यही जेठ २६ बुधबार गतेसम्मको तथ्यांकको आधारमा बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने ऋण लगानी करिब १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्तिपश्चात् बैंकको कुल शाखा १८९ हुनेछ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछि १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।
बैंकको सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । यस प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्ने बैंकले जनाएको छ ।