विराटनगर । मोरङमा सञ्चालित सहकारी संस्थाहरुले १० अर्ब रुपैयाँ निक्षेप परिचालन गरेका छन । जिल्लामा सञ्चालित सबै सहकारीको कुल सेयर पुँजी २ अर्ब ४८ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
सहकारी मार्फत १२ अर्ब रुपैयाँ लगानी भएको छ । जिल्लामा सञ्चालित हजार भन्दा बढी सहकारीको कुल कारोबार ३२ अर्ब रुपैयाँ रहेको छ । विराटनगरमा रहेको स्टार बहुउद्देश्यीय सहकारीको कारोबार ७० करोड रुपैयाँ रहेको छ ।
जिल्ला सहकारी संघका अनुसार १० करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने सहकारी ७० वटा रहेको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले जानकारी दिए ।
नारी सङ्कल्प बचत तथा ऋण सहकारी संस्था उर्लाबारी, दिपज्योति नारी विकास सहकारी बेलबारी, नारी पाथीभरा सहकारी रतुवा माई, स्वाती महिला बचत तथा ऋण सहकारी विराटनगर र राजसती महिला सहकारी टंकीसिनवारीले १० करोड रुपैयाँ भन्दा माथि कारोबार गरेका छन् । यी सहकारी महिलाले मात्र सञ्चालन गरेका सहकारी हुन ।
जिल्लामा सञ्चालित सबै सहकारीमा ३ लाख १५ हजार ५४५ सेयर सदस्य छन् । जसमा पुरुष १ लाख ३६ हजार ३१३ जना छन् भने महिला १ लाख ७९ हजार १६२ जना रहेका छन् । ३ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
मोरङमा बचत तथा ऋण सहकारी ६०२ वटा रहेका छन् भने बहुउद्देश्यीय सहकारी १४३ वटा छन् । त्यसै गरी कृषि सहकारी २३५ र अन्य सहकारी ११९ वटा रहेका छन् ।
सबैभन्दा धेरै सहकारी विराटनगर महानगरपालिकामा रहेका छन् । जहाँ २९३ वटा सहकारी सञ्चालनमा छन् । त्यस्तै सुन्दर हरैचामा पनि अन्य ठाउँको तुलनामा बढी सहकारी सञ्चालनमा छन् । १५३ वटा सहकारी त्यस क्षेत्रमा सञ्चालनमा छन् । जिल्लामा महिलाले मात्र सञ्चालन गरेका सहकारीको सख्या ११५ वटा रहेका छन् ।
जिल्लामा १८ प्रकृतिका सहकारी रहेका छन् । बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध, उपभोक्ता, जडीबुटी, सूचना तथा सञ्चार, मौरी पालन, स्वास्थ्य, तरकारी तथा फलफूल, पशुपालन, चिया कफी, शिक्षा र विद्युत सहकारी सञ्चालनमा छन् ।