काठमाडौं । विदेशी लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गरी नेपालमा लगानी ल्याउन स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकको जेठ १७ गते बसेको सञ्चालक समितिले विनियमावली स्वीकृत गरेको थियो । सञ्चालक समितिबाट पारित भएपछि केन्द्रीय बैंकले मंगलबार विनियमावली जारी गरेको हो ।
उद्योग विभाग र लगानी बोर्डबाट स्वीकृति पाएपछि विदेशी लगानी ल्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको हो । विदेशी लगानीकर्ताले डलरमा लगानी ल्याउन केन्द्रीय बैंक धाउन नपर्ने भएको छ ।
विदेशीले कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ्ग प्रणालीमार्फत नेपाल पठाउन/भित्र्याउन डलरमा हुने लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य नपर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।
विदेशी मुद्रा लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको ३ प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरे बमोजिम विदेशी लगानीमा गणना गर्न सकिने व्यवस्था गरिएको छ । र, विदेशी लगानी हुन नसकेको खण्डमा वा विदेशी लगानीमा गणना भएको रकमभन्दा बढी रकम भएमा त्यस्तो रकम फिर्ता पठाउन सकिने छैन ।
नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ हेर्न यहाँ क्लिक गर्नुहोस
बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको आधिकारिक स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन सक्नेछ । उक्त रकम जम्मा गरिदिन इच्छुक विदेशी लगानीकर्ता र निजको आधिकारिक स्थानीय प्रतिनिधि भए निजबाट बैंक तथा वित्तीय संस्थाले निवदेन लिनुपर्नेछ ।
लगानीकर्ताले विदेशी लगानीको स्वीकृति प्राप्त गरेपछि विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन । तर,लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी दिनु पर्ने विनियमावलीमा उल्लेख छ । नेपाल भित्रिएको विदेशी लगानी बापतको रकम बैंक तथा वित्तीय संस्थाले कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ ।
सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग÷कम्पनीको खातामा जम्मा गर्ने व्यवस्था विनियमावलीमा गरिएको छ । नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम र प्रचलित कानूनबमोजिमको विदेशी लगानीलाई लेखाङ्कन गराउन विदेशी लगानी भएको कम्पनी÷उद्योग वा विदेशी लगानीकर्ताले विदेशी मुद्रा भित्रिएको वा विदेशी लगानी भएको छ महिनाभित्र निवदेन पेश गर्नुपर्नेछ ।
लगानी फिर्ता लैजान स्वीकृति चाहिने
राष्ट्र बैंकले लगानी ल्याउन स्वीकृति लिनुनपर्ने व्यवस्था गरे पनि फिर्ता लैजान अनुमति लिनुपर्ने व्यवस्थालाई कायम राखेको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरू बमोजिम विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त नाफा वा लाभांश बापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा यसपछि सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम, प्रविधि हस्तान्तरण सम्झौता अन्र्तगत प्राप्त लाभ (रोयल्टी) बापतको रकम रहको छ ।
शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योग बाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरण अन्तर्गतको ट्रेडमार्क उपभोग हुने बापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभ बापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम हुनेछ ।
लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटही स्वीकृतिका लागि विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको कम्पनी/उद्योगले कागजातहरू संलग्न गरी एकाईमा निवेदन पेश गर्नुपर्नेछ । विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही सुविधा प्रदान गर्दा विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति÷सिफारिसको आधारमा गरिने व्यवस्था गरिएको छ ।
तर, विदेशी लगानी स्वीकृत गर्ने निकाय वा सम्बन्धित निकायको स्वीकृति÷सिफारिस उपलब्ध नहुने प्रकृतिको कारोबार वा शाखा कार्यालयहरूमार्फत हुने कारोबारसँग सम्बन्धित सटही सुविधा आवश्यक प्रमाण र औचित्यको आधारमा राष्ट्र बैंकबाट विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान सटही सुविधा प्रदान गर्न सक्ने भएको छ ।
विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजानको लागि विदेशी मुद्राको सटही स्वीकृति प्रदान गर्दा जुन विदेशी लगानीकर्ता र देशबाट विदेशी लगानी भित्रिएको हो सोही विदेशी लगानीकर्ताको नाममा रहेको बैंक खातामा रकम जम्मा हुने गरी सामान्यतया सोही देशमा विदेशी लगानी तथा आर्जित रकम फिर्ता हुने गरी विदेशी मुद्राको सटही स्वीकृति प्रदान गरिने विनियमावलीमा उल्लेख छ ।