काठमाडौं । सोमबार नेपाल कमर्स एन्ड क्रेडिट (एनसीसी)का ठूला लगानीकर्ताले नबिलसँग मर्ज गर्न अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेलाई दबाब दिएका छन् ।
सोमबार अपरान्ह ३ बजे न्यौपानेले जुममार्फत डाकेको मिटिङमा ठूला लगानीकर्ताले तत्काल नबिलसँग मर्जका लागि आवश्यक निर्णय गर्न दबाब दिएका हुन् । मिटिङ डेढ घण्टा चलेको थियो ।
नबिल बैंकले दिएको शून्य दशमलव ३५ को स्वाप रेसियोलाई एनसीसीका सञ्चालकले नेगोसिएसन गरेर बढी लिने र नसके सोही रेसियोमै भए पनि गाभिने वा मर्जमा जानुपर्ने ठूला लगानीकर्ताले धारणा राखेका थिए ।
यदि नबिलसँग शून्य दशलमव ३५ प्रतिशत स्वाप रेसियोमै एनसीसी मर्जमा गएको अवस्थामा पनि लगानीकर्तालाई ठूलो फाइदा हुन्छ । किनभने, एक सय रुपैयाँको सामान नबिलले ३५ रुपैयाँ किन्छ ।
एनसीसीका लगानीकर्ताको ६५ रुपैयाँ नबिल र एनसीसी एक भएपछि त्यो पैसा रिजर्भमा गएर बस्छ । पछि सोही ६५ प्रतिशतबाट पुनः एनसीसीका लगानीकर्ताले शून्य दशमलव ३५ प्रतिशत लाभांश पाउँछन् । त्यो भनेको २२.५ प्रतिशत हुन आउँछ । यसरी हिसाव गर्दा एनसीसीका लगानीकर्ताले समग्रमा ५७.५ प्रतिशत प्रतिफल पाउने देखिन्छ । त्यही भएर ठूला लगानीकर्ताले जुममार्फत भएको मिटिङमा मर्ज गर्न दबाब दिएका हुन् ।
न्यौपानेले नबिलले गरेको मर्ज र स्वाप रेसियोको प्रस्ताव ठूला लगानीकर्तासामू राखेका थिए । अध्यक्ष न्यौपानेले उक्त प्रस्ताव भर्चुअल मिटिङमा राखेपछि उपस्थित २० ठूला लगानीकर्ताले एकै स्वरमा नबिल बैंकसँग मर्ज वा गाभिने प्रक्रिया अघि बढाउन भनेका थिए ।
नबिल र एनसीसी बैंकका सञ्चालकबीच मर्ज गर्ने विषयमा सघन छलफल हुँदै आए पनि त्यसले अन्तिम रूप लिन सकेको थिएन । नबिल आफ्नो अडानबाट पछि नहटेकाले अध्यक्ष न्यौपानेले आफ्ना ठूला सेयरधनीसँग के गर्ने भनेर छलफल बोलाएका थिए ।
अध्यक्ष न्यौपानेले नबिलले गरेको प्रस्ताव मिटिङमा राखेका थिए । त्यसपछि पालैपालो लगानीकर्ताले आफ्नो राय राखेका थिए । सबैको राय एउटै थियो –नबिलसँग मर्जमा जाउ ।
लगानीकर्ताको भावना बुझेपछि अध्यक्ष न्यौपानेले दुई बैंकको सञ्चालक समितिको पटक पटकको संयुक्त बैंठकमा स्वाप रेसियो बाहेक मर्जसम्बन्धी सबै विषय टुङ्गिसकेको र स्वाप रेसियोका बारेमा पनि नबिल बैंकले १ः०३५ को अनौपचारिक प्रस्ताव राखेको र त्यसमा पनि दुवै पक्षबीच आपसी छलफल गरेर टुङ्ग्याउने बताए ।