काठमाडौं । कोरोना महामारीको दोस्रो छालले चालू आर्थिक वर्षमा बिजुली उत्पादनमा सरकारले लिएको लक्ष्य पूरा नहुने भएको छ । चालू आर्थिक वर्षमा सरकारले बिजुली उत्पादन १ हजार ५०० मेगावाट थपेर जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको थियो ।
तर, सरकारले लक्ष्यमा राखेका माथिल्लो तामाकोसी, रसुवागढी र सान्जेनलगायत निजी क्षेत्रका आयोजना कोरोना महामारीको दोस्रो छालले अवरुद्ध भएपछि यो वर्ष पनि लिएको लक्ष्य पूरा नभएको हो ।
यो वर्ष सम्पन्न हुने अनुमान गरिएका अधिकांश आयोजना आगामी आर्थिक वर्षका लागि धकेलिएका छन् । यस्तै गत आर्थिक वर्षमा सरकारले १ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएकोमा १४० मेगावाट मात्र बिजुली उत्पादन भएको थियो । गत वर्ष पनि कोरोना महामारीले आयोजनाहरूको काम अवरुद्ध पारेको थियो । चालू आर्थिक वर्षमा पनि एक दर्जनभन्दा बढी आयोजना सम्पन्न भई प्रणालीमा २२९ मेगावाट बिजुली थप हुने देखिएको छ ।
यो परिमाण माथिल्लो तामाकोसीको पहिलो युनिटबाट ७६ मेगावाटसमेत गरी हो । माथिल्लो तामाकोसीको पहिलो युनिटको परीक्षण उत्पादन भइरहेको छ । असारको पहिलो सातादेखि तामाकोसीको एउटा युनिटबाट बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । माथिल्लो तामाकोसी, माइवेनी र मिस्ट्रीखोला आयोजना प्रणालीमा जोडिएमा २२९ मेगावाट प्रणालीमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
साउनदेखि हालसम्म प्रणालीमा ७७ मेगावाट मात्र बिजुली थप भएको छ । साना तथा ठूला १० वटा आयोजना सम्पन्न भई प्रणालीमा यो परिमाण बिजुली थप भएको हो । जसमध्ये १० मेगावाट सोलार र ३ मेगावाट उखुको बगासबाट बिजुली उत्पादन भइरहेको छ । आर्थिक वर्ष सकिन अझै १ महिनाभन्दा बढी समय बाँकी रहेकाले ३ वटा आयोजनाको बिजुली थप हुने देखिएको विद्युत प्राधिकरणले जनाएको छ ।
निजी लगानीमा निर्माण भइरहेको ४२ मेगावाटको मिस्ट्रीखोला आयोजनाको परीक्षण उत्पादन भइरहेको छ । यो आयोजनाको बिजुली असारको पहिलो साताभित्र केन्द्रीय प्रणालीमा जोडिने भएको छ । यस्तै सिंगटी आयोजनाको प्रसारणलाइनको काम सकिएकाले यो आयोजनाबाट पनि २५ मेगावाट असारभित्रै जोडिनेछ । ९.५ मेगावाटका माइवेनी आयोजना पनि परीक्षणको चरणमा रहेको छ ।
हालसम्म २२.२ मेगावाटको चाकुखोला, ११.८ मेगावाटको नामार्जुन मादीलगायत १० वटा आयोजना छन् । यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बुटवलमा रहेको सोलार प्लान्टबाट ८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । एभरेष्ट सुगर मिल्सबाट ३ मेगावाट बिजुली पनि केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।
बाँकी जलविद्युतबाट रहेको छ । विश्व बैंकको ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरण आफैंले नुवाकोटमा २५ मेगावाटको सोलार प्लाण्ट जडान गरिरहेको छ । सो प्लाण्टबाट १० मेगावाट हाराहारीमा बिजुली उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ ।
हालसम्म हाँडीखोला, अपर रावा खोला, नामार्जुन मादी, बुटबल सोलार, मिथिला सोलार, एभरेष्ट सुगर, विजयपुर खोला, अपर चाकु ए, टक्सार खोला र घट्टेखोलाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ ।
चालू आर्थिक वर्षमा सरकारले बिजुलीको जडित क्षमता बढाएर ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । तर, कोरोना महामारीको दोस्रो छालले अन्तिम चरणमा पुगेका आयोजनाहरू सम्पन्न हुन सकेका छैनन । विद्युत प्राधिकरणले यो वर्ष १ हजार ७५ मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको थियो । कोरोना महामारी पुनः फैलिएपछि माथिल्लो तामाकोसीसहित ७२५ मेगावाट बिजुली थप हुने अनुमान प्राधिकरणले गरेको थियो । तर, यो लक्ष्य पनि पूरा भएन ।
यो वर्षमा पनि माथिल्लो तामाकोसीबाट ४५६, रसुवागढीबाट १११, सान्जेनबाट ५७, न्यादीबाट ३०, लिवर्टीको अपर दोर्दीबाट २५ र हिमालयन पावर पार्टनरले बनाएको दोर्दीखोलाबाट २७ मेगावाट बिजुली प्रसारणलाइन नबन्दा रोकिएका छन् । यस्तै हिमालयन ऊर्जा विकास कम्पनीले बनाएको १९ मेगावाटको उपल्लो खिम्ती १ र २ आयोजना पनि खम्तिीदेखि गज्र्याङसम्म १३२ केभी क्षमताको प्रसारणलाइन नबन्दा प्रणालीमा जोडिएको छैन ।
यो आयोजना तयार भइसकेको छ । तर, ड्राइ टेष्ट सुरु गर्न सकेका छैनन् । त्यसैले सरकारले यो वर्ष बिजुली उत्पादनमा लिएको लक्ष्य कोरोना महामारीले नपुग्ने भएको छ । यो आर्थिक वर्षभित्र प्रणालीमा जोडिने आयोजनाहरू पछि धकेलिएर आगामी आर्थिक वर्षमा पुगेका छन् ।
सरकारले आगामी आर्थिक वर्षमा माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेन र मध्य भोटेकोसीलगायत आयोजना सम्पन्न गरी १ हजार ६२९ मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ । योसमेत गरी आगामी वर्ष बिजुलीको जडित क्षमता बढेर २ हजार ९४७ मेगावाट पुग्ने ऊर्जा मन्त्रालयले जनाएको छ । कोरोना महामारी जारी रहेमा आगामी आर्थिक वर्षमा पनि बिजुली उत्पादनमा लिएको लक्ष्य पूरा नहुने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल १७ हजार मेगावाट क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा छन् ।
बिजुलीको माग १२२७ मेगावाट
हाल बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार २ सय २७ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । जसमध्ये विद्युत प्राधिकरणका आयोजनाहरूबाट ३९३, निजी उत्पादकहरूबाट ४४५ मेगावाट आपूर्ति भएको छ । बाँकी अपुग ३८९ मेगावाट बिजुली भारतबाट आयात भइरहेको प्राधिकरणले जनाएको छ ।
भारतबाट ७०० मेगावाट बढी बिजुली आयात भएकोमा आन्तरिक उत्पादन बढेपछि झण्डै आधा कम भएको छ । लक्ष्यमा रहेका आयोजना पूरा नभएमा भारतबाट आयात हुने बिजुली बढ्ने छ ।