काठमाडौं । चितवनका चेपाङ समुदायका १ सय घरधुरीलाई कामना विकास बैंकले खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर–१३, चेपाङ बस्तीलाई लक्षित गरी करिब एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिए । “चेपाङ समुदाय आफैँमा विपन्न वर्ग र पिछडिएको समुदाय हो,” उनले भने, “जंगलमा आश्रित समुदायलाई केही राहत पुगोस् भन्ने हेतुले खाद्यान्न सहयोग गरेका हौँ ।”
मितेरी फाउन्डेसनको समन्वयमा चेपाङ समुदायको उत्थानका लागि सञ्चालित प्रत्येक घरधुरीलाई एक बोरा चामल, खाने तेल, दाल, सोयाबिन, नुनलगायत खाद्यसामग्री वितरण गरिएको भण्डारीले बताए ।
चेपाङ समुदायका व्यक्तिको दैनिक जीवनयापन सहज होस् भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको बैंकका सीएसआर संयोजक विन्दु सिँजालीले बताइन् । उनका अनुसार कामना बैंकका कर्मचारीले स्वेच्छाले रकम संकलन गरी खाद्यान्न वितरणमा सहयोग गरेका थिए ।
बैंकले यसअघि चितवनका सामुदायिक स्कुलमा स्टेसनरी, पोसाक वितरण, रक्तदान कार्यक्रम, स्वास्थ्य सचेतना तथा सरसफाइका कार्यक्रमलाई निरन्तरता दिंँदै आएको छ । बैंकको नारायणगढ क्षेत्रीय मातहतमा १४ वटा शाखा सञ्चालनमा छन् भने जिल्लामा ६ वटा शाखा छन् ।