काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेड आउँदो ६ महिनाभित्र सञ्चालनमा आउनुपर्ने भएको छ । बिमा समितिबाट आशयपत्र (एलओआई) पाएको ६ महिनाभित्र कम्पनी सञ्चालनमा आउनुपर्ने कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
हिमालयनले सोमबार बिमा समितिबाट एलओआई पाएको हो । समितिका अनुसार कम्पनीले आउँदो कात्तिकसम्म व्यवसाय सञ्चालन गर्नुपर्ने हुन्छ ।
समितिले एलओआई दिएपछि कम्पनी रजिष्टार कार्यालयमा दर्ता गर्न जान हिमालयनलाई बाटो खुलेको कार्यकारी निर्देशक पौडेलले बताए । कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर आवश्यक पूर्वाधार तयारपछि समितिले हिमालयनलाई पुनर्बिमा व्यवसाय सञ्चालन अनुमतिपत्र (लाइसेन्स) दिने उनले स्पष्टपारे ।
यो पनि हेर्नुहोस
हिमालयन पुनर्बिमा कम्पनीले पायो अनुमति, यी हुन् लगानीकर्ता
पुनर्बिमा निर्देशिकाअनुसार हिमालयनको प्रस्ताव सबैभन्दा राम्रो देखिएकाले उसैलाई एलओआई दिएका हौ’ कार्यकारी निर्देशक पौडेलले भने । एउटालाई मात्र सञ्चालन अनुमति दिन प्रस्ताव आह्रवान गरेकोमा ५ वटाले पेश गरेका थिए । छनौट गर्न गठित समितिको सिफारिसका आधारमा हिमालयनले एलओआई पाएको हो ।
पुनर्बिमा कम्पनीको एक्चुअरी र रेक्टो मुख्य पक्ष हुने उनको भनाई छ । एक्चुअरी र रेक्टोको कबोल गर्नुपर्ने पुनर्बिमा निर्देशिकामा व्यवस्था गरिएको छ । २० अर्ब अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँको हुनेछ ।
जसअनुसार ७० प्रतिशत अर्थात ७ अर्ब रुपैयाँ संस्थापक र बाँकी ३० प्रतिशत ३ अर्ब रुपैयाँ सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन (आईपीआ) बाट जुटाइने गरी लगानी संरचना तयार पारिएको छ । प्रस्तावित कम्पनीमा वाणिज्य बैंकहरुको पनि लगानी रहने भएको छ ।
हिमालयनले वाणिज्य बैंकलाई पनि संस्थागत लगानीकर्ताको रुपमा राखेको छ । शंकर ग्रुपसहित अन्य प्रतिष्ठित उद्योगी व्यवसायीले दर्ता गराएको हिमालयनले अनुमति पाएको हो । काठमाडौं रि–इन्स्योरेन्स, जेन्युन रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स, प्रुडेन्सियल रि–इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्सले बिमा समितिमा निवेदन दिएका थिए ।
हिमालयन रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्वअध्यक्ष पशुपति मुरारका, निवर्तमान अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभी दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका ठूला व्यावसायिक घरनाको लगानी हुने भएको छ ।
अहिले पुनर्बिमा व्यवसाय गर्न एउटा मात्रै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यसमा सरकारको ४४ प्रतिशत र बाँकी बिमा कम्पनीहरु र सर्वसाधारणको सेयर लगानी छ । नेपाल रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । उसले आईपीओ निष्कासन गरिसकेको छ । हिमालयन सञ्चालनमा आएपछि पुनर्बिमा कम्पनीको संख्या २ वटा हुनेछ ।