काठमाडौं । व्यावसायिक घराना शंकर ग्रुपको लगानी गरेको हिमालयन पुनर्बिमा कम्पनीले अनुमति पाएको छ । बिमा समितिले हिमालयनलाई अनुमति दिएको हो ।
ठूला कर्पोरेट हाउसबीच पुनर्बिमा कम्पनी खोल्न रस्साकस्सी चलेको छ ।
काठमाडौं री इन्स्योरेन्स, जेन्युन री इन्स्योरेन्स, अन्नपूर्ण री, प्रुडेन्सियल री इन्स्योरेन्स, हिमालयन री इन्स्योरेन्सले बिमा समितिमा निवेदन दिएका थिए । त्यसमध्ये बिमा समितिले हिमालयनलाई अनुमति प्रदान गरेको हो । २० अर्ब अधिकृत पुँजी रहेको कम्पनीको चुक्ता पुँजी १० अर्बको हुनेछ ।
हिमालयन रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवशायीहरू छन् ।
बिमाविज्ञ रवीन्द्र घिमिरे, बिमा समितिकै पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्की, केबी बस्नेत, मुकुन्द पराजुलीलगायतले जेन्युन री इन्स्योरेन्स, पूर्वबैंकर देवेन्द्रप्रताप शाह, महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलगायतको पहलमा काठमाडौं री इन्स्योरेन्स, विशाल ग्रुप, आइएमई ग्रुपलगायतको लगानीमा प्रुडेन्सियल री इन्स्योरेन्स, वीरेन्द्र महतोसहित खेतान समूह, सारडा समूहलगायतको लगानीमा अन्नपूर्ण री इन्स्योरेन्सका लागि आवेदन दिएका थिए ।
निकै ठूलो रस्साकस्सी पछि चर्चामै नआएको शंकर ग्रुपसहित अन्य प्रतिष्ठित उद्योगी व्यवसायीले दर्ता गराएको हिमालयन री इन्स्योरेन्सले अनुमति पाएको हो ।
पुनर्बिमा कम्पनी बिमा कम्पनीले गरेको बिमाको पनि बिमा गरिदिने कम्पनी हुन् । बिमा कम्पनीहरूले आफूले लिएको जोखिमको केही हिस्सा यस्ता कम्पनीहरूलाई हस्तान्तरण गर्छन् र आफूले थेग्न सक्ने जोखिम मात्रै आफूले लिन्छन् । यसो गर्दा कुनै बिमा दाबी पर्यो भने त्यसमा यी दुवै कम्पनीले पहिल्यै बाँडफाँड गरेअनुसारको दायित्व भुक्तानी गर्छन् । यसले बिमा कम्पनीको जोखिम कम हुने गर्छ । नेपालमा अहिले एउटा मात्रै पुनर्बिमा कम्पनी छ, जसमा सरकार तथा बिमा कम्पनीहरूको सेयर छ ।