काठमाडौं । सिटिजन्स बैंकले बिराटनरमा रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गरेको छ । एक्वायर गर्ने अन्तिम सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जनाका सञ्चालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गरेका छन । चालू आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु हुने संयोजक पाण्डेले जानकारी दिए ।
दुबै संस्थाले आफ्नो विशेष साधारणसभाबाट अन्तिम सम्झौता पारित गर्ने छन । सो सम्झौतालाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एकीकृत कारोबार हुनेछ । गएको माघ २८ गते दुई संस्थाले प्राप्तिका लागि प्रारम्भीक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सिर्जना फाइनान्सका लगानीकर्ताले सिटिजन्स बैंकमा १०० बराबर ९५ कित्ता सेयर पाउने छन । प्राप्तिपछि बैंकको चुक्ता पुँजी बढेर १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।
सिर्जनालाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप परिचालन १ खर्ब ३७ अर्ब रुपैयाँ पुग्नेछ । कर्जा प्रवाह पनि १ खर्ब २१ अर्ब रुपैयाँ पुग्नेछ । बैंकको कुल शाखा संख्या १८९ हुनेछ । बैंकले प्रत्येक प्रदेशमा बलियो उपस्थिती जनाउन मर्जर र प्राप्ति प्रक्रियालाई जोड दिंदै आएको छ । ग्राहक संख्या बढेर १२ लाख पुग्नेछ ।
यस्तै सञ्चालक पाण्डे सिटिजन्स बैंकको मर्जर समितिको संयोजक भएपछि उनको पहलमा ३ वटा संस्थालाई प्राप्ति सम्पन्न भएको छ । उनी संयोजक भएपछि सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति भइसकेको छ ।
यस्तै सिर्जना फाइनान्सलाई पनि प्राप्ति हुने क्रममा छ । अन्य बैंक तथा वित्तीय संस्थालाई मर्ज र प्राप्ति गरेर प्रत्येक प्रदेशमा सिटिजन्स बैंकको उपस्थिती बलियो बनाउने सञ्चालक पाण्डेको भनाई छ ।