जीवन बिमा गर्नका लागि फाइल अध्ययन गर्दा अनौठा अनौठा शब्दको प्रयोग गरिएको छ । धेरै जसो व्यक्तिलाई त्यहाँ प्रयोग गरिएका शब्द बुझ्न एकदमै कठिन हुन्छ । नहोस्, पनि किन ? जीवन बिमा गर्न जाने व्यक्तिले त्यसअघिसम्म त्यस्ता शब्द सुनेकै हुँदैनन् ।
यदि कोही बिमा क्षेत्रमा काम गर्छ वा बिमा सम्बन्धी चासो राख्छ भने त्यस्ता व्यक्तिले बिमा गर्दा प्रयोग हुने शब्दको बारेमा सुनेको हुन सक्छ । नत्र सामान्य मान्छेलाई त्यस्ता शब्द र त्यसको अर्थ विल्कुलै थाहा हुँदैन । जीवन बिमाको फाइल अध्ययन गर्दा कस्ता कस्ता शब्दको प्रयोग गरिएको हुन्छ, हेरौं ।
१) नोमिनी
नोमिनीको अर्थ धेरै व्यक्तिलाई थाहा नहुन सक्छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा पनि यो शब्दको प्रयोग गरिएको हुन्छ । खासमा नोमिनी भनेका इच्छाएको व्यक्तिलाई बुझाउँछ । बिमा गर्ने व्यक्तिले आफ्नो शेषपछि आफ्नो बीमा पोलिसीको लाभ पाउने भनेर आफैले तोकेको व्यक्ति हो । कम्पनीले बीमितको मृत्यु भएमा सम्बन्धित बीमालेख अन्तर्गत भुक्तानी गरिने रकम प्राप्त गर्ने व्यक्ति बीमितले इच्छाएको छ भने निजको नाम तथा ठेगानालाई बीमालेखको अनुसूचीमा उल्लेख गर्नेछ ।
२) सम एस्योर्ड
अर्को अनौठो लाग्ने शब्द हो सम एस्योर्ड । बिमा क्षेत्रबाहेक अन्यत्र यो शब्द विरलै प्रयोग हुन्छ । बीमांकलाई सम एस्योर्ड भनिन्छ । बीमा गर्न चाहेको जम्मा रकम यो बीमा पोलिसीमा खुलाउनु पर्छ ।
३) पोलिसी टेन्योर
पोलिसी टेन्योर भनेका पनि धेरैले बुझ्दैनन् । कति वर्षका लागि बीमा गरिएको हो, त्यो अवधिलाई पोलिसी टेन्योर भनिन्छ ।
४) म्यच्युरिटी
बीमा गरेको अवधि समाप्त हुने मितिलाई परिपक्वता अर्थात (म्यच्युरिटी भनिन्छ ।
५) राइडर
पूरक करार (राइडर) यो भनेको बीमा कम्पनीबाट थप सुविधा लिन पाउने व्यवस्था हो । बीमितले शुरूमा गरेको आधारभूत करारमा आवश्यकता अनुसार प्रिमियम थप्दै राइडर पनि थप्दै जान सक्छ ।
६) फ्री लूक पिरियड
अहिले विभिन्न कम्पनीहरूले करीब १७१८ प्रकारका घातक (मान्छे नमारे पनि जीवनभर रहने क्यान्सर जस्ता) रोगका लागि थप प्रिमियम लिएर एकमुष्ट बीमा गरिरहेका छन् । बीमा गर्दा प्रस्ताव फारम र लाग्ने बीमाशुल्क बुझाए पनि प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भनेर कम्पनीले निर्णय गरिसकेको नहुन सक्छ । यसका लागि छुट्ट्याएको १५ दिन वा १ महीनाको अनुसन्धानको समयावधिलाई फ्री लूक पिरियड भनिन्छ ।
७) सरेन्डर भ्यालू
बीमा पोलिसी रद्द गर्दा फिर्ता पाइने रकम (सरेन्डर भ्यालू) बीमितले २ वर्षसम्म किस्ता तिरेको छ, तर यसपछि तिर्न सकेन भने तिरेको प्रिमियमसम्म फिर्ता गर्ने व्यवस्था छ । यसका लागि बीमितले सामान्यभन्दा थप प्रिमियम तिर्नुपर्ने हुन्छ ।
तर कुनै बीमितले एकमुष्ट प्रिमियम तिरेको छ अर्थात् एकल बीमाशुल्क भुक्तानीको पोलिसी छ भने १ वर्षपछि मात्र ‘सरेन्डर’ भ्यालू पाउन सक्छ । महीनापिच्छे वा वर्षैपिच्छे प्रिमियम तिरिरहेको हकमा २ वर्षपछि मात्र सरेन्डर र त्यस्तो अवस्थामा बुझाएको प्रिमियम रकम गर्न बराबर फिर्ता लिन पाइनेछ । यस्तै, कसैले प्रिमियम शुल्क तिरिरहेको छ र बीचमा दुर्घटना भएर तिर्न नसकिने अवस्थामा पुग्यो भने ‘सरेन्डर’मा जानुपर्छ । ‘सरेन्डर’मा जाँदा पैसा त पाइन्छ ।
८) पोलिसी रिभाइबल
व्यतीत बीमालेखको पुनर्जागरण (पोलिसी रिभाइबल) कम्पनीको नियमअनुसार बीमितले एक किस्ता प्रिमियम तिरेपछि बाँकी २–३ वर्षसम्म नतिरी बसेको अवस्थामा फेरि त्यही बीमा योजनालाई पुनर्जागरण गरेर बीमा गर्न इच्छुक हुन्छ भने यसलाई पोलिसी रिभाइबल भनिन्छ । यसमा कम्पनीले किस्ता अर्थात् प्रिमियम नतिरेको समयको अन्तरको नियमअनुसार ब्याज लिने गर्छ । सो ब्याज भुक्तानी गरेपछि मात्र बीमितले आफ्नै पुरानो बीमालाई निरन्तरता दिन पाउँछ । केही कम्पनीका अनुसार बीमकले खर्च बेहोर्नु नपर्ने गरी बीमितले आफू जीवन बीमाको लागि निरन्तर योग्य छु भनी बीमकले तोके बमोजिमको सन्तोषजनक प्रमाण पेश गर्नुका साथै बीमा समितिबाट स्वीकृत दरमा ब्याजसहित तिर्न बाँकी बीमाशुल्क रकमको भुक्तानी गरेमा उक्त बीमालेख व्यतीत भएको मितिले बीमालेख परिपक्व हुनुभन्दा अघि जुनसुकै समयमा पनि पुनर्जागरण गर्न सकिनेछ ।