काठमाडौं । अन्य क्षेत्रबाट कर्जाको माग नआएपछि बैंक तथा वित्तीय संस्थाहरूले सेयर बजारमा आक्रामक लगानी गरेका छन् । बैंकमा निक्षेप थुप्रिने र अन्य क्षेत्रबाट कर्जाको माग हुन छाडेपछि बैंकहरूले प्रमुख लगानीको क्षेत्र सेयर बजारलाई छानेका हुन् । चालू आर्थिक वर्षको सुरुआतबाटै सेयर कारोबार उछाल आउन थालेपछि बैंकले पनि लगानीको क्षेत्र यसलाई मान्दै आएका छन् ।
कोरोना भाइसर महामारीका कारण अन्य लगानीका क्षेत्रबाट ऋण माग भएन । त्यसैका कारण अधिक तरलता हुन थालेपछि साउनदेखि नै बैंक तथा वित्तीय संस्थाहरूले सेयर कर्जामा व्यापक लगानी बढाएका हुन् ।
अहिलेसम्म सेयरमा लगानी नगरेका बैंकले समेत ऋणीलाई फोन गरेरै सेयर लोन लिनका लागि बोलाएका छन् । एकातिर कर्जाको ब्याजदर पनि घट्यो र अर्कोतिर बैंकमा अधिक तरलता हुन थालेपछि बैंकको प्रमुख लगानीको क्षेत्र सेयर बजार बन्न पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब ४८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँ मात्रै सेयर कर्जा प्रवाह भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म सेयर कर्जामा प्रवाह भएको रकम ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा यो रकम ५० अर्ब ४० करोड रुपैयाँ मात्रै थियो ।
चालू आर्थिक वर्षको ९ महिनामा सेयर कर्जा ८२ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत मार्जिन लेन्डिङमा केही सहज बनाएका कारण सेयर कर्जा बढेको बैंकरहरू बताउँछन् ।
बैंकहरूले यो आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेका छन् । यसलाई आधार मान्दा सेयरमा लगानी भएको कर्जाको हिस्सा ६ दशमलव ५ प्रतिशत हुन आउँछ ।
सेयरको तुलनामा अन्य क्षेत्रमा भएको कर्जाको वृद्धिदर कम छ । सेयर बजार बढेर २८ अंक नजिक पुगेको छ । यस्तै कारोबार रकम पनि ११ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।