काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी बढाउन १ः०२९ अनुपातमा दोस्रो पटक हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
हकप्रद सेयर निष्कासन गर्न कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउने अपीले जनाएको छ । हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावर र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिने भएको छ । मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । केयर नेपाल लिमिटेडले अपीलाई केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।
अपिले गएको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ रहेको छ । दोस्रो हकप्रद निष्कासनपछि चुक्ता पुँजी बढेर २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले नौगाड र माथिल्लो नौगाड गरी १६.५ मेगावाट क्षमताका २ वटा जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउन दोस्रो पटक हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
माथिल्लो चमेलियाको ३५ प्रतिशत काम सकिएको छ । आयोजना ठूलो भए पनि यसमा सुरुङ छैन । चमेलिया नदीको पानी विद्युतगृहमा खसाल्न ३.३ मिटर ब्यास भएको ६.३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप राखिने भएको छ । पाता आयात गरेर आयोजना स्थलमै पाइप तयार गरेर जडान सुरु गरिएको कम्पनीले जनाएको छ ।
विद्युतगृहको संरचना निर्माणका लागि जग खनेर ढलान सुरु गरिएको छ । आयोजना निर्माणको ठेक्का चन्द्र एण्ड बसन्त र ग्वालेक निर्माणसेवा जेभी तथा लट्टीनाथ कन्स्ट्रक्सन कम्पनीलाई दिइएको अपीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार चन्द्र एण्ड बसन्त र ग्वालेक निर्माणसेवा जेभीले बाँध क्षेत्रमा काम गरिरहेको छ । लट्टीनाथ कन्स्टक्सनले विद्युतगृहमा काम गरिरहेको छ आयोजनाबाट २०७९ साल फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत १३२ केभी बलाँच सबस्टेसनमा जोडिने छ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्मको दुरी १६ किलोमिटर छ । सबस्टेसनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनको ५७ वटा टावर कम्पनीले नै निर्माण गर्दैछ ।
माथिल्लो चमेलिया बनाउन ७ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनामा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाईमा कर्मचारी संचय कोष, राष्ट्रिय बाणिज्य, नेपाल, नेपाल बंगालादेश बैंक र सेन्चुरी बैंकले ५ अर्ब १८ करोड रुपैयाँ लगानी गरेका छन् । यो कूल लागतको ७० प्रतिशत हो ।
३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ स्वपुँजी लगानी रहेको छ । स्वपुँजी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गरेको हो । दोस्रो हकप्रद बाँडफाँडपछि कम्पनीले तेस्रो हकप्रद सेयर पनि निष्कासन गर्ने भएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।
उत्पादित विद्युत मध्ये ३० प्रतिशत हिँउदका ६ महिना र बाँकी ७० प्रतिशत वर्षाका ६ महिनामा उत्पादन हुनेछ । चमेलिय आयोजनाको मात्र बिजुली बिक्रीबाट पहिलो वर्ष कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गर्नेछ । वार्षिक आम्दानीमा हरेक वर्ष ३ प्रतिशतका दरले ८ वर्षसम्म मूल्य बृद्धि हुने हुँदा आय पनि बढ्दै जाने कम्पनीले जनाएको छ ।
आयोजना सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित चमेलिया नदीमा पर्छ । कम्पनीले जलविद्युतसँगै सौर्य विद्युत आयोजनामा पनि लगानी गरेको छ । कम्पनीले निर्माण गरिरहेको ४ मेगावाटको चन्द्रनिगाहपुर सौर्य विद्युत राष्ट्रिय प्रणालीमा जोडिँदैछ । ११ मेगावाटका सिमरा र ढल्केबर सौर्य विद्युत आयोजनाको निर्माण सुरु हुँदैछ ।
अपी पावरको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०८ प्रतिशतले बढेर १२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा अपीले ६ करोड ६ लाख रुपैयाँ नाफा गरेको थियो ।
गत वर्षको भन्दा यो वर्ष कम्पनीले ६ करोड ५६ लाख रुपैयाँ नाफा बढाएको वित्तीय विवरणमा उल्लेख छ । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट र अन्य स्रोतबाट हुने आम्दानी बढेसँगै खुद नाफामा वृद्धि भएको हो ।
विद्युत् बिक्रीबाट हुने आम्दानी १९ प्रतिशतले बढेर २८ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट २४ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्ष १५ लाख ४७ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष बढेर ६ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९३ पैसाले बढेर ८ रुपैयाँ ७२ पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा थियो । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ५२ पैसा छ ।