काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले नयाँ जलविद्युत आयोजना बनाउने भएको छ । कम्पनीले साझेदारीमा ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।
युनाइटेड मोदीले मेवा खोलामा ६७ करोड ५० लाख रुपैयाँ सेयर लगानी गर्ने भएको हो । यो कम्पनीको चुक्तापुँजीको ३० प्रतिशत हो । कम्पनीको सञ्चालक समितिको बैठकले युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनीमा ३० प्रतिशत सेयरमा लगानी गर्ने निर्णय गरिसकेको छ ।
कम्पनीले युनाइटेड मेवा खोलामा ६७ लाख ५० हजार कित्ता सेयरमा किन्ने छ । यद्यपि उसको सेयर खरिद गर्ने निर्णय विद्युत नियमन आयोगले स्वीकृति दिन बाँकी छ । कम्पनीले मेवाखोला आयोजनामा लगानी गर्नका लागि आयोगसँग अनुमति मागेको छ ।
आयोगले अनुमति दिएपछि सेयर खरिदको प्रक्रिया अघि बढ्ने जानकारी युनाइटेड मोदीले दिएको छ । आयोगबाट सकेपछि सेयर लगतका काम अघि बढ्ने छ ।
आयोजना ताप्लेजुङमा पर्छ । मेवा खोला तमोर नदीको सहायक हो । सरकारले आयोजना प्रतिस्पर्धाबाट बढी अग्रिम रकम लिएर निजी क्षेत्रलाई बनाउन दिएको हो ।
आयोजना बनाउन ९ अर्ब रुपैयाँ लाग्ने भएको छ । आयोजना बनाउन प्रतिमेगावाट १८ करोड रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ । आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा ६ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । बाँकी २ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ ।
आयोजनाले जग्गा खरिदका साथै क्याम्प बनाइसकेको छ । यस्तै सुरुङका लागि बोलपत्र आह्वान भइसकेको छ । साढे २ वर्षमा काम सक्ने गरी लगानीकर्ताहरू अघि बढेका छन् । कम्पनीमा महेश्वर प्रकाश श्रेष्ठ, आशिष थापाका साथै गुण एयरका राजेन्द्र शाक्य लगानीकर्ताहरू रहेका छन् ।
युनाइटेड मोदीको चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ छ । ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कुरा नभएको मोदीले स्पष्ट पारेको छ । हालसम्म यस विषयमा निर्णय नभएको कम्पनीले जानकारी दिएको छ ।
१० मेगावाटको तल्लो मोदी–१ आयोजना बनाउँदा लिएको ऋण चुक्ता गरेकाले सोही आयोजनालाई धितोमा राखेर मोदीले ऋण लिएर मेवा खोलामा लगानी गर्न लागेको युनाइटेडले स्पष्ट पारेको छ ।
युनाइटेडले १० मेगावाटको तल्लो मोदी १ जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । यस्तै १०.५ मेगावाटको तल्लो मोदी २ आयोजना पनि रहेको छ ।
कम्पनी ५० प्रतिशत हकप्रद सेयर निष्कसन गर्ने हल्ला बजारमा चलेपछि सेयर मूल्यमा मंगलबार पोजेटिभ सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २५५ रुपैयाँ पुगेको छ । कम्पनीको बजार पुँजीकरण २ अर्ब ९३ करोड २५ लाख रुपैयाँ पुगेको छ ।