काठमाडौं । नेपाल बैंकलाई इक्रा नेपाल लिमिटेडद्वारा मुडिज्को स्टैण्डर्ड अनुसार ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ । रेटिङ एजेन्सीले नेपाल बैंकलाई ‘ए’ रेटिङ प्रदान गरेको हो ।
‘ए’ स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा बित्तिय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्वलाई समयमै भुक्तानी गर्न सक्ने पर्याप्त क्षमता हुने, बैंकको नगदको हिस्सा ६३ प्रतिशत रहेको (जुन नेपालको बैंकिङ क्षेत्रको औसतभन्दा उच्च रहेको), पर्याप्त पुँजीकोष अनुपात रहने गर्छन् ।
त्यस्तै कर्जा तथा निक्षेपको जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहने भएकाले बैंक प्रतिको विश्वसनियता बढ्छ । साथै बैंकको व्यवसाय वृद्घि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने गर्छ ।
बैंकद्वारा कोभिड–१९ को प्रभावले पारेको प्रतिकूल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायमराख्न सफल रहेको, वित्तीय दबाबलाई व्यवस्थापन गर्न कर्जा जोखिम, व्यवसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूको विश्लेषण राम्रो रहेको थियो ।
त्यस्तै, बजार हिस्सा, ब्राण्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, नीतिगत तथा कानुनी प्रभावहरूको मूल्यांकन, पुँजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग, सुशासन कायम गर्नका लागि गरिएका प्रयासहरू, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम बहन गर्न सक्ने क्षमता, पर्याप्त तरलता तथा पुँजीकोष, आम्दानीका स्रोतहरू तथा तिनको स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र बैंक क्षेत्रको जोखिम जस्ता तथ्यहरूको आधारमा नेपाल बैंक एरेटिङमा पर्न सफल भएको हो ।
त्यसैगरी हाल बैंकद्वारा जारी गरिएको साढे ३ अर्ब बराबरको १० वर्ष समयावधि तथा ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्रको समेत इक्राले ए रेटिङ गरेको छ ।