काठमाडौं । निजी तथा सार्वजनिक लगानी (पीपीपी) खाकामा निर्माण सुरु भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट आउँदो असारमा पनि बिजुली उत्पादन नहुने भएको छ ।
सिभिल निर्माणको काम अन्तिम चरणमा पुगे पनि इलेक्ट्रोमेकानिकल उपकरण जडानमा भएको ढिलाइले गर्दा आयोजना निर्धारित समयमा सम्पन्न नहुने अवस्थामा पुगेको हो ।
विनासकारी भूकम्पले एक वर्षभन्दा बढी समय आयोजनाको काम रोकिएको थियो । यस्तै गत वर्ष कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी (लकडाउन) ले आयोजनाको काम प्रभावित हुँदा १ वर्ष ढिलाइ हुन पुग्यो । आउँदो असारदेखि बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्यलाई कोरोनाको दोस्रो भेरियन्टको महामारीले पर धकेलिएको छ ।
आयोजना असारसम्म आउने संभावना नरहेको रसुवागढी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्व मल्लले क्यापिटल नेपाललाई बताए । असारमा सकिने निश्चित भए पनि म्याद थप नगरिएको उनले स्पष्टपारे ।
हालसम्म आयोजनाको ८० प्रतिशत काम सकिएको छ । सिभिल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको उनले सुनाए । सिभिलको बाँकी काम भइरहेको छ । तर, इलेक्ट्रोमेकानिकल उपकरण जडान नहुँदा आयोजना प्रभावित भएको सीईओ मल्लको गुनासो छ ।
आयोजना आगामी सन् २०२२ को जुन अर्थात ०७९ असारसम्म सकिने संभावना रहेको उनले सुनाए । उपकरण जडानको समय स्पष्ट भएपछि मात्र आयोजनाको म्याद थप हुने उनको भनाइ छ । यस विषयमा आन्तरिक छलफल हुने उनले बताए ।
इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा आपूर्तिको जिम्मा पाएको भारतीय कम्पनी भोइथ इन्डिया लिमिटेडले जडान नगर्दा ढिलाइ हुन पुगेको गुनासो आयोजना पक्षको छ । लगभग सबै उपकरणहरू भारतबाट आइसके पनि सोको जडान गर्न कम्पनीका प्राविधिकहरू नआएकाले ढिलाइ हुन गएको सीईओ मल्ल बताउँछन् ।
भोइथका ५ जना प्राविधिकले अहिले काम गरिरहे पनि त्यो पर्याप्त नभएको उनको भनाइ छ । कोरोनाको दोस्रो महामारीले भारतबाट कम्पनीले प्राविधिक ल्याउन सकेको छैन ।
उपकरण जडानको जिम्मा लिएको भोइथका मेकानिकल प्राविधिक कोरोना महामारीका कारण गत २०७६ चैत ८ गतेदेखि आफ्नो देश गएकाहरु नेपाल फर्र्किएका छैनन् । उपकरणको जडान सकिनासाथ आयोजना सञ्चालन हुने अवस्थामा पुग्ने कम्पनीका सीईओ मल्लले बताए । उपकरण जडानको सबै काम बाँकी छ ।
उपकरण जडान छिटो सम्पन्न गराउन भोइथलाई ताकेता गरिए पनि जनशक्ति अझै उपलब्ध नगराएको आयोजनाले बताएको छ । सिभिल संरचनातर्फको काम प्रायः पूरा भइसकेको अवस्थामा भोइथले ढिलासुस्ती गरिरहेको छ ।
सन् २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ । पछिल्लो समय उपकरण जडानको ढिलासुस्तीले चिन्ता बढाएको आयोजनाको भनाइ छ ।
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फ्रान्सिस टर्वाइनसहितका सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) ले आफ्ना काम अघि बढाइरहेको छ । तर, भारतीय कम्पनीबाट ढिलाइ भइरहेको छ ।
कर्मचारी सञ्चय कोषको ऋण सहयोगमा आयोजनाको निर्माण सुरु भएको हो । निर्माण अवधिको ब्याजबाहेक सुरुको लागत १३ अर्ब ६८ करोड रुपैयाँ अनुमान गरिएकोमा निर्माणमा ढिलाइ, विदेशी मुद्राको विनिमय दरमा परिवर्तन र प्राकृतिक विपत्तिका कारण आयोजनाको लागत बढ्न सक्ने देखिएको रसुवागढी हाइड्रोपावरले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।
आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ । रसुवागढीको वार्षिक आम्दानी ३ अर्ब २५ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । सञ्चय कोषले ब्याज घटाएर ९.७५ प्रतिशत कायम गरेको छ । यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको छ ।
यसअघि २०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो । सरकारले पनि रसुवागढी चालू आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाको सूचीमा राखेको छ ।
सरकारले यो वर्ष १५०० मेगावाट बिजुली उत्पादन दोब्बर बनाइ जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । कोरोनाको दोस्रो छालले यो लक्ष्यलाई पनि प्रभावित बनाएको छ । रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ ।
नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुने छन् ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी छ । आयोजना नेपाल चीन सीमा नजिक रसुवागढीमा पर्छ । आयोजना आर्थिक रूपमा आकर्षक रहेको छ ।