काठमाडौं । कोरोना महामारीका बीच भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ ।
हालसम्म ४३ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । अब आयोजनाको ५७ प्रतिशत काम बाँकी छ । आयोजनामा ३ हजार कामदार परिचालन भइरहेका छन् । कोरोना देखिनासाथ आइसोलेसनमा राख्ने र सोका लागि क्यामपहरूसमेत बनिसकेको आयोजनाले जनाएको छ ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । बाँधस्थलमा जयप्रकाश एसोसिएट्स निर्माण कम्पनी तथा विद्युत गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले काम गरिरहेका छन् ।
आयोजनाको विकासकर्ता एसजेवीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । नविल र एभरेष्ट बैंकले सो आयोजनामा १५ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ वर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ ।
आयोजनामा भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई) का अतिरिक्त, पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । कोरोना महामारीले केही वर्षपछि धकेलिने अवस्था आएको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
अरुण तेस्रो आयोजनाबाट नेपालले २२ प्रतिशत अर्थात १९८ मेगावाट बिजु्ली निःशुल्क पाउने सम्झौता भएको छ । विकासकर्ता एसजेबीएनले प्रतिस्पर्धाबाट ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्न पाएको छ ।
कोरोना महामारीले गर्दा लगानी बोर्ड र एसजेबीएनबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुन बाँकी छ । एमओयू भएपछि लगानी बोर्डले सर्वेक्षण अनुमतिपत्र जारी गरेपछि आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम अघि बढ्ने छ ।
दुई वटा आयोजनाको जडित क्षमता १ हजार ५७९ मेगावाट हुने छ । यस्तै तल्लो अरुणबाट पनि हालको जडित क्षमताअनुसार २१ प्रतिशत अर्थात १४२ मेगावाट बिजुली निःशुल्क पाउने छ ।