काठमाडौं । कोरोना महामारीको दोस्रो चरणको संक्रमण रोक्न स्थानीय तहहरूले धमाधम निषेधाज्ञा जारी गरेपछि बिजुलीको मागमा पनि कमी आउन थालेको छ ।
मंगलबारसम्म प्रणालीमा बिजुलीको माग ३०२ मेगावाट घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निषेधाज्ञा जारी हुनुअघिसम्म बिजुलीको माग बढेर साँझ (पिक आवरमा) १४८० मेगावाटसम्म पुगेको थियो ।
औद्योगिक क्षेत्रबाट माग घटेपछि मंगलबार ११८० मेगावाटमा झरेको प्राधिकरणका उपकार्यकारी निर्देशक तथा प्रवक्ता मदन तिम्सिनाले बताए । उनका अनुसार आइतबार १३३०, सोमबार १२२२ र मंगलबार ११८० मेगावाटमा झरेको उनले जानकारी दिए ।
गार्हस्थ्य विद्युत मागमा कमी नआएको तर औद्योगिक माग घटेको उनले सुनाए । निषेधाज्ञाले गर्दा उद्योगहरूले उत्पादन क्षमता आधा घटाएको र केही उद्योग बन्द भएकाले माग घटेको उनले जानकारी दिए ।
बिजुलीको माग घटेपछि भारतबाट हुने आयातसमेत कम भएको छ । भारतबाट अहिले ५५० मेगावाट मात्र बिजुली आयात भएको प्राधिकरणले जनाएको छ । यसअघि भारतबाट ७५० मेगावाटसम्म बिजुली आयात भएको थियो ।
प्राधिकरणका अनुसार अहिले नेपालको आन्तरिक उत्पादन ६३० मेगावाट हाराहारीमा छ । जसअनुसार निजी आयोजनाबाट २७७ मेगावाट बिजुली उत्पादन भइरहेको छ । विद्युत प्राधिकरणका आयोजनाहरूबाट ३५३ मेगावाट उत्पादन भइरहेको छ ।
कुलेखानी जलाशयमा पानीको सतह धेरै तल पुगेपछि अहिले आयोजना बन्द गरिएको छ । कुलेखानी पहिलो, दोस्रो र तेस्रोको जडित क्षमता १०६ मेगावाट रहेको छ । पानी सञ्चिति बढाउन कुलेखानी आयोजन बन्द गरिएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । कुलेखानीमा पानीको सतह बढेर १४०५ मिटर पुगेको छ ।
गत वर्ष यही समयमा सरकारले बन्दाबन्दी (लकडाउन) गर्दा पनि बिजुलीको माग घटेर ८०० मेगावाट हाराहारीमा आएको थियो । त्यसबेला उद्योगधन्धा बन्द हुँदा बिजुलीको मागमा कमी आएको थियो ।