काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको छ ।
बैंकका मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष खेम्काले एक्विजेशनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।
एक्विजेशनपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ ।
युनाइटेड फाइनान्समा भारतको मुथुत समुहको ३९ करोड ९० लाख लगानी रहेको छ ।
वर्षअघि नेपाल आएका मुथुत समूहका अध्यक्ष एमजी जर्ज मुथुतले युनाइटेडमा लगानी गर्ने घोषणा गर्दै फाइनान्सका अध्यक्ष बसन्त चौधरीलाई चेक हस्तान्तरण गरेका थिए ।
नबिलसँग मर्ज हुन लागेको युनाइटेडको वित्तीय अवस्था
नबिल बैंकसँग मिसिन लागेको युनाइटेड फाइनान्सले चालू आवको ९ महिनामा ८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । युनाइटेडले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवको तेस्रो त्रैमासमा खुद नाफा १३ प्रतिशतले बढाएको छ । गत आवमा कम्पनीले ७ करोड १६ लाख ९२ हजार नाफा कमाएको थियो ।
युनाइटेडको ब्याज आम्दानी भने १९ प्रतिशतले घटेको छ । गत आवको तेस्रो त्रैमासमा २६ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीको खुद ब्याज आम्दानी चालू आवको सोही अवधिमा २१ करोड ४६ लाख ४२ हजारमा रुपैयाँमा सीमित भएको हो ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा ४ करोड ७३ लाख ५४ हजार रुपैयाँ रहेको छ । चुक्तापूँजी १ अर्ब ४ करोड ८ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा २९ करोड ३६ लाख ३९ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड ६८ लाख ६१ हजार रुपैयाँ र सेयर प्रिमियममा १५ करोड ८६ लाख ८४ हजार रुपैयाँ सञ्चित गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव ४६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४० दशमलव ७३, तरलाता अनुपात ४० दशमलव ९५ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५९ दशमलव ४९ रुपैयाँ रहेको छ ।
नबिलको वित्तीय अवस्था
निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक नबिलले चालू आर्थिक वर्षको तेस्रो तैमासमा सबैभन्दा बढी नाफा कमाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा निजी बैंकहरुमध्ये सबैभन्दा बढी हो । नबिलले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशत नाफा बढाएको हो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९.८९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३५ करोडबाट बढेर १ अर्ब ५ करोड पुगेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६.३७ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.९१ गुणा रहेको छ ।
नबिल बैंकको पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङ ३ अर्ब ६८ करोड रहेको छ । बैंकको रिजर्भमा १३ अर्ब ८४ करोड ६७ लाख रहेको छ । निक्षेप संकलन २ खर्ब नाघेको छ भने कर्जा प्रवाह १ खर्ब ८६ अर्ब पुगेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको चुक्ता पूँजी ३३.५० प्रतिशत बढेको छ भने जगेडा कोष ११.२२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ९.१९ प्रतिशत र कर्जा २५.७६ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा ०.१५ प्रतिशतविन्दु घटेर ०.४८ प्रतिशतमा झरेको छ।