काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट वैशाखभित्रै बिजुली उत्पादन थाल्ने गरी अन्तिम चरणका काम धमाधम भइरहेका छन । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका बाँकी कामहरु भइरहेका छन ।
वैशाखभित्र एउटा युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुने गरी तिब्र गतिमा काम भइरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रवत्ता गणेश न्यौपानेले बताए ।
उनले वैशाख ३१ गतेसम्म आयोजनाको एउटा युनिट सञ्चालनको तयारी भइरहेको जानकारी दिए । ‘यसबीचमा कुनै समस्या आएन भने निर्धारित समयमा पहिलो युनिटबाट बिजुली उत्पादन हुने छ’ उनले भने ‘यदी समस्या आएमा १ २ दिन ढिलाइ हुने संभावना छ ।’
माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको छ ।
यस्तै पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाखभित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ ।
मुख्य निर्माणअन्तर्गत बाँधरइन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचना काम सकिएको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर तामाकोसीका अध्यक्ष हितेन्द्रदेव शाक्यले वैशाखाभित्रै आयोजनाको पहिलो युनिट सञ्चालन हुने जानकारी गराइसकेका छन । उनका अनुसार चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन हुनेछ
आयोजनामा ७६ ७६ मेगावाटका ६ वटा युनिटहरु रहेका छन् । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश विद्युत उत्पादन हुनेछ ।
२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । आयोजनाले बिजुली बिक्रीबाट वार्षिक ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ । आयोजना बनाउन निर्माण अवधिको ब्याज बाहेक ५३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ब्याजसमेत पुँजीकरण गर्दा आयोजना बनाउन कुल लागत ८० अर्ब रुपैयाँ पुग्ने संभावना छ ।