काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा बिजुली निकासी गर्ने बताइरहेका बेला आयातको ग्राफ भने बढ्दै गएको छ । सुक्खा मौसम र पानी नपरेपछि विद्युत उत्पादनमा कमी आउँदा माग र आपूर्तिको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणले भारतबाट पिकआवरमा ७८० मेगावाटसम्म बिजुली आयात गरेको जनाएको छ ।
हाल बिजुलीको माग बढेर १४६३ मेगावाट पुग्दा भारतबाट ७८० मेगावाटसम्म आयात भएको प्राधिकरणले जनाएको छ । कुल आपूर्तिको झण्डै ५३ प्रतिशत हिस्सा भारतीय बिजुली छ । सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको बहाव घट्दा मागको तुलनामा आपूर्ति कम हुँदा व्यवस्थापनमा चाप परेको विद्युत प्राधिकरणले जनाएको छ ।
गत वर्ष कोरोना महामारीले उद्योगधन्धा बन्द हुँदा माग घटेको थियो । अघिल्लो वर्ष भारतबाट ६०० मेगावाटसम्म बिजुली आयात भएको थियो । गत आर्थिक वर्षमा सरकाले १ हजार मेगावाट र चालू आर्थिक वर्षमा १ हजार ५०० मेगावाट थप उत्पादन गरी जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्यमा धक्का लागेपछि यसको असर वितरण प्रणालीमा परेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार हालसम्म प्रणालीमा ७० मेगावाट बिजुली थप भएको छ ।
सम्बन्धित समाचार
बत्ती अनियमित हुँदा धमाधम बन्द हुन थाले वीरगन्जरभैरहवा उद्योग, अर्घाखाँचीको फ्याक्ट्री ‘सटडाउन’
बिजुली उत्पादन घट्दा आपूर्ति व्यवस्थापनमा प्राधिकरणलाई दबाब, भारतबाट ७८० मेगावाटसम्म आयात
बिजुलीको आपूर्ति व्यवस्थापनमा चाप परेपछि बिजुली आउने जाने क्रम बढेको छ । यस्तै प्राधिकरणले सिमेन्ट तथा डण्डीलगायत ठूला उद्योगहरूमा बिजुली आपूर्ति कटौती गरेको उद्योगीहरूले बताएका छन् । यस वर्ष पानी नपरेको र प्रदूषणलगायतका कारणले हिउँ पनि नपग्लिएकाले वैशाख सुरु हुँदासमेत खोलामा पानीको बहाव बढ्न सकेको छैन । नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरूबाट विद्युत उत्पादन घटेको छ ।
विद्युतको माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रष्टपारे । विगत वर्षहरूमा चैतको अन्तिमबाट खोलामा पानीको बहाव वृद्धि भई विद्युत उत्पादन बढ्ने गरेको थियो ।
यो वर्ष पानी नबढ्दा प्राधिकरणको स्वामित्वमा रहेका १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङदी, ७९ मेगावाटको मस्र्याङदी लगायतका अन्य विद्युत गृहहरूको उत्पादन बढ्न सकेको छैन ।
प्राधिकरणको तथ्याङ्कअनुसार, चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युत गृहबाट औसतमा २०० मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युत गृहहरूबाट २०० मेगावाट विद्युत उत्पादन भएको छ । प्रणालीमा विद्युतको उच्चतम माग १४६३ मेगावाट पुगेको छ ।
यो माग पूर्ति गर्न प्राधिकरणका विद्युत गृहहरूबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरूबाट २०० मेगावाट छ ।
धनुषाको ढल्केबर पूर्वतर्फ विद्युत आपूर्तिका लागि समस्या छैन । ढल्केबरपश्चिम बाँकेको कोहलपुरसम्म विद्युतको माग अधिक रहेको तर प्रसारण तथा वितरण पूर्वाधार पनि पर्याप्त नरहेकाले आपूर्तिमा समस्या छ । ढल्केरबाट रौतहटको चन्द्रनिगाहापुरसम्म हाल रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब २०० मेगावाट मात्रै विद्युत प्रवाह हुनसक्छ ।
प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।
वैशाखको अन्तिमबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसीको एउटा युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु हुने भएकाले माग र आपूर्तिको व्यवस्थापन गर्न केही सजिलो हुने प्राधिकरणको विश्वास छ ।
प्राधिकरणले अहिलेसम्म एनटीपीसी विद्युत निगम लिमिटेड (एनभीभीएन) , पावर ट्रेड कम्पनी (पीटीसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरूसँग विद्युत खरिद गर्दै आएको छ ।