काठमाडौं । केही दिनअघि नेपालको कर्पाेरेट क्षेत्रमा नामै नसुनिएका इन्द्रबहादुर थापाले भैरहवाको टाइगर प्यालेस रिसोर्ट खरिद गर्न डिल गरेको समाचार आयो । अस्ट्रेलियाको लगानीकर्ता सिल्भर हेरिटेज ग्रुपले नै सूचना जारी गरेपछि पहिलो समाचार इन्साइड एसिसन गेम अनलाइनले ३१ जुलाई २०१९ मा लेख्यो । त्यसपछि त्यही समाचार नेपालको एक अङ्ग्रेजी दैनिकले लेख्यो । पत्रिकामा आएको समाचारलाई केही अनलाइनले साभार गरे । तर कुनै पनि मिडियाले इन्द्रबहादुर थापाको फोटो प्रकाशित गरेनन् ।
२० अर्ब बैङ्कमा रहेको ‘स्टेन्टमेन्ट’ सिल्भर हेरिटेजलाई बुझाएपछि सिल्भर हेरिटेजले थापालाई होटल बेच्न राजी भएको समाचार पनि प्रकाशित भयो । थापा मलेसियन नेपाली भएको र उनका पुर्खा वर्षाैंदेखि मलेसियन नागरिक रहेको पनि सार्वजनिक भयो । मलेसियामा रहेका नेपालीमध्ये सबैभन्दा धनी भनेर दाबी गरिएका थापालाई मलेसियामै रहेका अधिकांश नेपाली व्यवसायीले समेत चिन्दैनन् ।
नेपालका व्यवसायी र मलेसियामा रहेका नेपाली व्यवसायीमाझ परिचित नभएका थापाले एकै पटक झन्डै ४ अर्बमा कसरी होटल खरिद गर्दै छन् भन्ने चासोले कर्पाेरेट क्षेत्रमा बहस छेडिएको छ । यस विषयमा क्यापिटल नेपालले गरेको अध्ययनमा उनको नाममा कसैले होटल खरिद गर्न थापालाई अगाडि सारेको देखिन्छ ।
मलेसियामा रहेका ११ नेपाली व्यवसायी, मलेसियास्थित नेपाली दूतावास, नेपालका केही व्यवसायी र स्वयम् थापासँगको कुराकानीबाट उनको नाममा मलेसियाबाट नेपालमा पैसा पठाएर अरु कसैले होटल खरिद गर्ने अन्तिम तयारी रहेको बुझ्न गाह्रो हुँदैन ।
क्यापिटललाई प्राप्त केही डकुमेन्टअनुसार थापा २९ वर्षदेखि मलेसियामा बस्दै आएका छन् । तर उनी आफैं भने ३१ वर्षदेखि मलेसियामा बस्दै आएको बताउँछन् । उनी मलेसियन नेपाली भने होइनन् । नेपालको सङ्खुवासभा घर भएका थापाले मलेसिया रोजगार भिसामा गएर ‘इम्प्लोमेन्ट पास’ बनाएका छन् । यस्तो पास मलेसियामा रहेका सयौं नेपालीले बनाएको पाइन्छ । उनको पासको अवधि सन् २०२४ मे १७ सम्म छ । थापाकी श्रीमती राधा बूढाथोकी मगरले केही समय अघिसम्म नेपालमा पत्रकारिता गर्थिन् । किशोर नेपाल नेपाल पत्रकार महासङ्घका सभापति भएका बेला उनी उपसभापति थिइन् ।
सञ्चारमाध्यममा होटल खरिद सम्झौता गर्न बैङ्कमा नगद २० अर्ब भएको ‘स्टेन्टमेन्ट’ दिइएको विषयमा भने थापाले नै अस्वीकार गरे । ‘त्यत्रो पैसा कहाँबाट हुनु ? चानचुन पाँच अर्ब होला, त्यो पनि मैले धेरै ठाउँबाट व्यवस्थापन गरेको हुँ,’ उनले भने ।
थापाको प्रोफाइलअनुसार पाँच अर्ब रकम भनेको पनि धेरै नै देखिन्छ । थापाले नेपाल ल्याउन लागेको पैसा र नेपालमा भएको उनको खाताको विषयमा नेपाल राष्ट्र बैङ्कले अनुसन्धान थालेको छ । राष्ट्र बैङ्क स्रोतका अनुसार थापाको दुई ओटा बैङ्कखाता शङ्कास्पद देखिएको र त्यस विषयमा अहिले अनुसन्धान भइरहेको छ । ‘रकम अस्वाभाविक देखिएपछि हामी अहिले अनुसन्धानमा छौं, अहिले यति मात्र भन्न मिल्छ,’ राष्ट्र बैङ्क स्रोतले भन्यो । यसअघि उनले जारी गरेका दुई ओटा चेक बाउन्स भएका थिए ।
राष्ट्र बैङ्कको प्रतिक्रियापछि थापासँग पुनः सम्पर्क गर्दा उनले नेपालमा भएको खाता र रकमका विषयमा राष्ट्र बैङ्कलगायतले अनुसन्धान गरिरहेको स्विकारे ।
‘सबै पैसा मेरो होइन, नेपालका केही ठूला गु्रपको पनि हो, नेपालमा अहिले बैङ्क खोल्न नमिल्ने भएपछि बैङ्क किन्नका लागि सिङ्गापुरबाट पठाएको रकम हो,’ उनले भने, ‘केही समयपछि अरु सबै पैसा उहाँहरुले लानुहुन्छ, मेरो डेढ अर्ब जति हुन्छ, त्यही हो ।’
मलेसियामा थापाका तीन ओटा कम्पनी रहेको देखिन्छ । तीन ओटा कम्पनी नै अर्बांैको कारोबार गर्ने खालका देखिँदैनन् । उनको प्रमुख कम्पनी गियर अन कर्पाेरेसन मलेसिया एसडीएन बीएडी हो । त्यस्तै उनको अर्काे कम्पनी लाफा कन्स्ट्रक्सन म्यानुफ्याचरिङ र तेस्रो कम्पनी सोलाखानी ह्युमन रिसोर्स कन्सल्टेन्सी हो । मलेसियास्थित जोहोरबारु क्षेत्रमा उनको मुख्यालय छ, जहाँ उनी बसेर काम गर्छन् । सामान्य नेपालीहरु जानेआउने ठाउँमा रहेको उनको कार्यालय भएको बिल्डिङमा उनले नै नेपाली कामदारलाई लक्षित गरी सुमन रेस्टुरेन्ट सञ्चालन गरेका छन् । थापाले मध्यपूर्व र पश्चिम अफ्रिकामा पनि आफ्नो व्यवसाय रहेको क्यापिटल नेपाललाई बताए ।
थापाले आफ्नो फेसबुक गोरा थापा मगरको नाममा खोलेका छन् । क्यापिटलसँगको कुराकानीमा उनले गोरा आफ्नो बच्चा हुँदाखेरिको नाम भएको दाबी गरे । उनले आफ्नो टाइमलाइनमा अगस्ट १ मा इन्साइड एसियन गेमिङ अनलाइनमा आएको समाचार सेयर गरेका छन् ।
उनको फेसबुकमा नेपालका कुनै पनि व्यवसायी साथी रहेको देखिँदैन । फेसबुकका टाइमलाइन केलाउँदा उनले नेपालका नेता र राजनीतिप्रति वितृष्णा पैदा भएको भाव देखाएका छन् भने राजा र राजतन्त्रप्रति सदासयता राखेका छन् । राजतन्त्रको विषयमा वकालत गरेका धेरै पोस्ट सेयर गरेका थापाले आफूलाई इन्डियन आर्मीको पूर्वमेजर भनेर उल्लेख गरेका छन् । २९ वर्षदेखि मलेसिया रहेका थापाको जन्ममितिका आधारमा उनी मेजर हुन ७० वर्षभन्दा बढीको हुनुपर्छ । तर उनको जन्ममितिका आधारमा उनी ६१ वर्षका मात्र छन् ।
निर्माणको समयदेखि नै विवादमा परेको टाइगर प्यालेस रिसोर्टलाई सिल्भर हेरिटेजले एक वर्ष अघिदेखि नै बेच्न खोजिरहेको थियो । कम्पनी आफैंले एनई गु्रप, विशाल गु्रप, चौधरी गु्रप र आईएमई गु्रपलाई प्रस्ताव राखेको थियो । केही गु्रपले चासो राखेर प्रक्रिया अगाडि बढाउन पनि खोजिरहेका थिए । तर अचानक व्यावसायिक वृत्तमा चर्चामा नरहेका थापाले होटल खरिद गर्ने विषयमा सिल्भर हेरिटेजले सूचना जारी गर्याे ।
थापालाई होटल खरिद गर्न सघाउने व्यक्ति भने टाइगर प्यालेसकै पूर्वकर्मचारी ह्यु होल्म्स रहेका छन् । होल्म्ससँगको साझेदारीमा होटल खरिद गर्न लागेको भन्ने प्रश्नमा समेत थापाले इन्कार गरे । ‘होइन म एक्लैले यो होटल खरिद गर्न लागेको हुँ, हामीले कसैसँग पार्टनसिप गरेका छैनौं,’ उनले भने ।
मलेसियामा रहेका थापासँग क्यापिटलनेपालले गरेको टेलिफोन वार्ता
हेल्लो सर नमस्कार
नमस्कार
के तपाईंले नेपालको टाइगर प्यालेस रिसोर्ट खरिद गर्न लाग्नुभएको हो ?
हो, म मलेसियामा सन् १९८८ देखि व्यवसाय गर्दै आएको छु र मैले नै होटल खरिद गर्न लागेको हुँ ।
तपाईं मलेसियामा रहेका नेपाली गोर्खालीहरुको सन्तति हो ?
होइन, मेरो बुबा मलेसियामा युद्ध लड्नुभएको चाहिँ हो ।
तपाईंको नेपालमा पुख्र्यौली घर कहाँ हो ?
सङ्खुवासभा ।
होटल इन्भेस्टमेन्ट पाटर्नर लिमिटेडमा हजुरसँग ह्यु होल्म्स पनि हुनुहुन्छ नि, उहाँ पार्टनर हो ?
ए ए, ऊ मेरो कन्सल्टेन्ट हो । टाइगर प्यालेसकै पहिलाको प्रमोटर पनि हो ।
उहाँ व्यावसायिक साझेदार होइन ?
ए होइन, त्यो हाम्रो कन्सल्टेन्ट मात्रै हो । ऊसँग ७ लाख ६४ हजार डलरको सम्झौता मात्र हो ।
सिल्भर हेरिटेजले पैसाको स्रोत माग्दा तपाईंले एउटा बैङ्क स्टेटमेन्ट दिएको र त्यसमा २० अर्बको नगद भएको कुरा सत्य हो ?
होइन, ५ अर्ब जतिको होला ।
तपाईंले २० अर्बको बैङ्क स्टेटमेन्ट सिल्भर हेरिटेजलाई देखाउनुभयो भन्ने कुरा छ नि ?
होइन होइन । मेरो ख्यालमा चानचुन ५ अर्ब होला ।
बैङ्कमा २० अर्ब छ भनेर अहिले नेपालमा चर्चा छ नि, तपाईंलाई थाहा छैन ?
ए ए खै होला । तर, मलाई थाहा भएन ।
खरिदमा तपाईं देखिने मात्र र पैसाचाहिँ अरुले हाल्ने हो कि भन्ने शङ्का पनि छ, खरिदमा तपाईं एक्लै हो कि अरुसँग पार्टनरसिप पनि गर्दै हुनुहुन्छ ?
छैन, यो शतप्रतिशत सिङ्गल हो । यसमा अरु कोही छैन ।
खासमा पैसाचाहिँ अरु मान्छेको र तपाईं केही प्रतिशतमा बसेर तपाईंले आफ्नो नाममा खरिद गर्न लागेको हो भन्ने जिज्ञासा लागेर बुझ्न खोजेको, यसमा तपाईंको धारणा के छ ?
ए, हैन हैन, हामी अर्कासँग पार्टनरसिप गर्दैनौं । जेजस्तो आफ्नो छ त्यसैबाट कारोबार गर्ने हो । हाम्रो परम्परा नै त्यही छ ।
तपाईंको मिसेस पनि पहिला पत्रकार हुनुहुँदो रै’छ है ?
ए ए हो । उहाँ त नेपाल पत्रकार महासङ्घको पहिलो उपसभापति हो क्यारे । २०४६ सालपछि आयो नि बहुदलीय व्यवस्था त्यसपछि उहाँ पहिलो उपसभापति हुनुभयो ।
तपाईंको नाम नेपालमा नसुनिएको र ३/४ अर्ब होटल किन्न लागेको भनेर एकदमै चासोको विषय छ, तपाईं किन बाहिर आउनुहुन्न ?
हैन, हामी कसैसँगको सम्पर्कमा हुँदैनौं । हामी आफ्नै बिजनेसमा व्यस्त हुने भएकाले बाहिर आउँदैनौं ।
तपाईंले १५ अगस्टसम्म पैसा जम्मा गरेपछि होटल खरिद हुन्छ होइन त ?
हामीलाई नगदको कुनै समस्या छैन । हामीसँग खरिद गर्न ‘क्यास एभाइलेबल’ छँदै छ क्यारे । त्यसैले मैले त केही समस्या देख्दिनँ ।
यहाँ पछिल्लो पटक नेपाल कहिले आउनुभएको थियो ?
मेरो लास्ट भिजिट नेपालमा दुई हप्ताअघि भएको थियो । बिजनेसकै सिलसिलामा आएको थिएँ ।
नेपालको बैङ्कमा भएको तपाईंको रकमका विषयमा राष्ट्र बैङ्कले अनुसन्धान गरिरहेको रहेछ नि ?
त्यो मलेसियाबाट पठाएको पैसा होइन, मैले भन्नै बिर्सेछु । किनभने पछि थाहा भइहाल्छ । त्योचाहिँ सिङ्गापुरको हो ।
सिङ्गापुरबाट आएको पैसा तपाईंको अकाउन्टमा कति छ ?
हजुर, ३८ अर्ब होला । त्योचाहिँ मेरो पैसा होइन । नेपालमा बैङ्क खोल्नेहरुको हो । अलिकति त हो मेरो । डेढ सय करोड जति मात्रै होला मेरो । अरु मेरो होइन ।
त्यसो हाे भने तपाईंको खातामा अरुको पैसा हो आएको ?
हो हो, अस्ति नेपालमा मेरो पैसा ट्रान्सफर गर्नुपर्दा बढी भेटाएर भेरिफिकेसन गर्दै छ क्यारे ।
तपाईंको खातामा अरुले पैसा राखिदिएको हो त ?
अँ हो हो ।
हजुरको कुन बैङ्कको खाता हो यो ?
अहिले नै त्यो डिसक्लोज नगरौं । किनकि उनीहरुले इन्भेस्टिकेगन गर्दै छन् । अहिले नभनौं । किनकि नेपालका ठुल्ठूला मान्छे आबद्ध छन् त्यही भएर । नेपालमा बैङ्क खोल्ने भनेर पठाएको पैसा होला । अहिले नेपालमा लाइसेन्स त दिँदैन नि, त्यही भएर अरु बैङक खरिद गर्न पठाएको हो ।
तपाईंको खातामा अरुले त्यति धेरै पैसा राखिदिए भनेर कसरी पत्याउने, यसमा के भन्नुहुन्छ ?
होइन, उनीहरुले नेपालमा चाहिँ बैङ्क किन्ने भनेर पठाएका हुन् । मैले पनि अलिकति लोन मागेको थिएँ, झापामा कृषि खेती गर्न भनेर । तर त्यहाँ त एउटै कम्पनीलाई ११ बिघाबाहेक नदिइँदो रहेछ । क्याबिनेट स्वीकृति चाहिनुपर्ने रे । अन्य प्रक्रिया पूरा गर्नुपर्ने रे । विदेशी फन्डिङ नदिने रे । पछि उनीहरुले झिक्छन्, मेरो पनि झिक्छु ।
तपाईंकै खातामाथि राष्ट्र बैङ्कले अनुसन्धान गरिरा’छ, त्यत्रो पैसा कहाँबाट कसरी आयो भनेर । बैङ्कको नाम भन्दा के फरक पर्थ्याे र ?
बैङ्कको नाम भन्न अहिले चाहिँ मिल्दैन के । किनभने अहिले अनुसन्धान भइरहेको छ । उनीहरुको पैसा रिटर्न जान्छ, मेरो चाहिँ खातामै रहन्छ । किनभने ‘लिगल्ली ट्रान्सफर’ भएको छ । उनीहरुले खास भेरिफिकेसन गर्ने मात्र हो ।