काठमाडौं । सुक्खा मौसम र पानी नपरेपछि विद्युत उत्पादनमा कमी आउँदा माग र आपूर्तिको व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणलाई दबाब परेको छ । सुक्खा मौसम र पानी नपरेका कारण खोलामा पानीको वहाव घट्दा मागको तुलनमा आपूर्ति कम हुँदा व्यवस्थापनमा चाप परेको विद्युत प्राधिकरणले जनाएको छ ।
माग सम्बोधन गर्न प्राधिकरण र निजी क्षेत्रको भारतीय ऊर्जा बजारबाट विद्युत खरिद गर्न स्वीकृति पाएकाले तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।
यस वर्ष पानी पनि नपरेको र प्रदूषणलगायतका कारणले हिउँ पनि नपग्लिएकाले वैशाख सुरु हुँदासमेत खोलामा पानीको वहाव बढ्न सकेको छैन । यसले गर्दा नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन घटेको छ ।
विद्युतको माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत आयात गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको कार्यकारी निर्देशक शाक्यले प्रष्टपारे । विगत वर्षहरुमा चैतको अन्तिमबाट खोलामा पानीको वहाव बृद्धि भई विद्युत उत्पादन बढ्ने गरेको थियो ।
तर, यो वर्ष पानी नबढ्दा प्राधिकरणको स्वामित्वमा रहेका १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमस्र्याङदी, ७९ मेगावाटको मस्र्याङदी लगायतका अन्य विद्युतगृहहरुको उत्पादन बढ्न सकेको छैन ।
विद्युत माग र आपूर्तिमा चाप परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले बुधबार स्युचाटारस्थित भार प्रेषण केन्द्रमा गई प्राधिकरणका कार्यकारी निर्देशक शाक्य, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठलगायतका अधिकारीहरुसँग छलफल गरेका थिए ।
प्राधिकरणको तथ्याङअनुसार, चैतमा प्राधिकरणका आरओआर र अर्धजलाशययुक्त विद्युतगृहबाट औसतमा २०० मेगावाट, जलाशययुक्त कुलेखानीबाट ६० मेगावाट र निजी क्षेत्रका विद्युतगृहहरुबाट २०० मेगावाट विद्युत उत्पादन भएको छ । प्रणालीमा विद्युतको उच्चतम माग १४६३ मेगावाट पुगेको छ ।
यो माग पूर्ति गर्न प्राधिकरणका विद्युतगृहहरुबाट अधिकतम ३४० मेगावाट, कुलेखानीबाट १०३ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरुबाट २०० मेगावाट र भारतबाट अधिकतम ७८० मेगावाट आयात गरिएको छ ।
धनुषाको ढल्केबर पूर्वतर्फ विद्युत आपूर्तिका लागि समस्या छैन । ढल्केबरपश्चिम बाँकेको कोहलपूरसम्म विद्युतको माग अधिक रहेको तर प्रसारण तथा वितरण पूर्वाधार पनि पर्याप्त नरहेकाले आपूर्तिमा समस्या छ । ढल्केरबाट रौतहटको चन्द्रनिगाहापुरसम्म हाल रहेको १३२ केभी प्रसारण लाइनमार्फत करिब २०० मेगावाट मात्रै विद्युत प्रवाह हुन सक्छ ।
प्राधिकरणले अहिले सबैभन्दा धेरै ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत विद्युत आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड (एनभीभीएन) बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री (पीपीए) सम्झौता भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म रहेको छ ।
वैशाखको अन्तिमबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसीको एउटा युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन सुरु हुने भएकाले माग र आपूर्तिको व्यवस्थापन गर्न केही सजिलो हुने प्राधिकरणको विश्वास छ ।
प्राधिकरणले अहिलेसम्म एनटिपिसी विद्युत निगम लिमिटेड(एनभीभीएन), पावर ट्रेड कम्पनी (पिटिसी) र बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरुसँग विद्युत खरिद गर्दै आएको छ ।