काठमाडौं । निजी लगानीमा निर्माणधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाको मुख्य सुरुङको काम सकिएको छ । आयोजनाको सुरुङ खन्ने काम मंगलबार साँझ सकिएको हो । १० किलोमिटर लामो भुमिगत इनकलाइन्ड सुरुङ ४६३ मिटर लामो र ४८डिग्री को स्लोप मा खनिएको छ ।
मुल सुरुङ ब्रेक थ्रु भएको पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका निर्देशक अर्जुन गौतमले बताए । उनले आयोजनाको ८० प्रतिशत काम पुरा भएको जानकारी दिए । आयोजनाबाट आगामी पुससम्म बिजुली उत्पादनको लक्ष्य लिएको गौतमले बताए । आयोजना लमजुङ जिल्लाको दोर्दी गाउँपालिका ६ ढोडेनीमा निर्माण भइरहेको छ ।
सुपरदोर्दी दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । यसअघि आउँदो भदौसम्म निर्माण सम्पन्न गरी उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य कम्पनीले लिएकोमा पुुसमा पुगेको छ । आयोजनाको १०.३ किलोमिटर लामो सुरुङ रहेको छ । सुरुङको काम लगभग सकिएको उनले सुनाए । यस्तै विद्युतगृहको काम पनि जारी रहेको र एउटा लेभलमा आइसकेको छ ।
कोरोना बाढी र कोरोना महामारीले आयोजनाको काममा ढिलाइ भएको गौतमको भनाई छ । यसअघि ४९.६ मेगावाटमा आयोजनाको डिजाइन गरिएको थियो । पछि क्षमता बढाएर ५४ मेगावाट पुर्याइएको हो । बाँकी ४ मेगावाटका लागि पनि लगानी जुटेको छ । आयोजना बनाउन ८ अर्ब ८० करोड रुपैयाँ अनुमानित लागत रहेको छ ।
आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका छ । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । बैंकको ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी रहेको छ । बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको लगानी छ । आयोजनाबाट २०७५ भित्रै व्यावसायिक बिजुली उत्पादन मिति रहेकामा पछिल्लो समय भूकम्प, बाढी र कारोना महामारीले आयोजना पछि धकेलिएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न, भदौदेखि बिजुली उत्पादन थाल्ने
२०७१ मा नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद सम्झौता (पीपीए) गरी २०७२ असोजबाट आयोजनाको निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको जनाइएको छ ।
आयोजनामा प्रभावित क्षेत्रका जिल्लाबासीको २७ करोड रुपैयाँ लगानी छ । आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्खायाममा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको छ । आयोजनाको बाँध र टनेल निर्माणको काम बज्रगुरु कन्स्ट्रक्सन, मुख्य सुरुङ बीपी कन्स्ट्रक्सन र विद्युतगृह हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन ।
आयोजना निर्माण भएपछि उत्पादित विद्युत लम्जुङको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । हाल उक्त सबस्टेसनको काम पनि तीव्र रुपमा अघि बढेको छ । दोर्दी करिडोरमा मात्रै निजी लगानीमा आधा दर्जन आयोजना निर्माणाधीन छन ।
यसअघि विद्युत प्राधिकरणको ७० मेगावाटको मध्यमस्र्याङदी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो । यस्तै चिनियाँ लगानीको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिरहेका छन ।
मस्र्याङदी करिडोरमा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन । दोर्दीमा मात्रै ४ वटा आयोजना निर्माणधिन छन । तीमध्ये २७ मेगावाटको दोर्दी र २५ मेगावाटको दोर्दीखोला ए आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।