काठमाडौं । सुदुरपश्चिममा निर्माणाधीन सबैभन्दा ठूलो ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको मुख्य सुरुङको काम पूरा भएको छ । आयोजना सानीगाड हाइड्रो कम्पनी लिमिटेडले निर्माण गरेको छ ।
सुदुरपश्चिम प्रदेशको बझाङस्थित कालंगा बेसिनमा निर्माण गरिरहेको आयोजनाको ७ हजार ८०५ मिटर लामो सुरुङ बुधबार सकिएको हो ।बझाङ जिल्लाको बुङ्गल नगरपालिका भित्र सानिगाड हाइड्रोद्वारा प्रवर्द्धन गरिएको आयोजनाको फेस ३ र ४ टनेलको बुधबार सकिएको कम्पनीका सञ्चालक राजेश श्रेष्ठले जानकारी दिए ।
उनले अत्यन्त जटिल भौगर्भिक अवस्थाको बावजुत, ब्रेक थ्रुसँगै अडिट सहित जम्मा ८ हजार १५३ मीटर लम्बाइको सुरुङ खन्ने काम सम्पन्न भै आयोजना सम्पन्न हुने चरणमा प्रवेश गरेको उनले जानकारी दिए । सुरुङ ढलानको काम साढे ४ महिनाभित्र सम्पन्न हुन्छ ।
हालसम्म आयोजनाको ८५ प्रतिशत काम सकिएको छ । अब ५ प्रतिशत काम बाँकी रहेको छ । आयोजनाको बाँध क्षेत्रको संरचनाको निर्माण सकिएको छ ।
विद्युतगृहको सिभिल संरचनाको काम पूरा भई उपकरण जडानको काम धमाधम भइरहेको पनि उनले बताए । उपकरण जडानको काम पनि साउनभित्र पूरा गरिसक्ने लक्ष्य छ ।
आयोजनाबाट २०७८ भदौ तेस्रो सातादेखि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनाबाट २०७७ असारदेखि उत्पादन सुरु गर्ने तालिका भए पनि भौगोलिक विकटता तथा कमजोर भौगोलिक अवस्थाका कारण सुरुङमा देखिएपछि केही महिना ढिलाइ हुन गएको हो । आयोजनाको सबैभन्दा जटिल र कठिन सुरुङ खन्ने काम सकिएको सञ्चालक श्रेष्ठको भनाई छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली दार्चुलास्थित १३२ ३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना बनाउन ६ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।
कम्पनीले माथिल्लो कालंगागाडसहित १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको सानीगाड आयोजना निर्माण गरिरहेको छ । यी आयोजनाका लगानीकर्ता एउटै हुन । यी आयोजनाको जडित क्षमता ६३ मेगावाट हुनेछ । नेपाली काँग्रेसका सांसद तथा व्यवसायी उमेश श्रेष्ठको अगुवाइमा एकै पटक ३ वटा आयोजना निर्माण सुरु भएको हो ।