काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गरेका हुन । ५७ अर्ब १० करोडको लागतमा ३ वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
१६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरे ।
उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक ३ हजार ५१२ किलोमिटर भएको जानकारी दिए। उनका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।
यी सडकहरुले देशको राजधानी, प्रदेशिक राजधानी, जिल्ला सदरमुकामलाई राष्ट्रिय राजमार्गसँग तथा देशभित्रका अन्य आर्थिक, व्यापारिक र पर्यटकीय केन्द्रसँग जोड्नेछन्।
यस कार्यक्रम अन्तर्गत देशका प्रत्येक निर्वाचन क्षेत्रमा गरी थप २२१० किलोमिटर डबल लेनका सडक कालोपत्रे हुने प्रधानमन्त्रीले जानकारी दिए ।यस्तै यसले कृषि, उद्योग र जनताको आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याउने उनको भनाई छ ।
कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले ३ वर्षमा ३ हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिइ । यस्तै ३ हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उहाँले जानकारी गराए ।
उनले पूर्वपश्चिम राजमार्गलाई ४ देखि छ लेनसम्म विस्तार गर्न थालिएको बताए । उनका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ । समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति रहेको थियो । रासस