काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काभ्रेका दुईवटा विद्यालयको पुनः निर्माण सुरु भएको छ । जिल्लाको रोशी गाउँपालिकास्थित हरिसिद्घि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकाको सिद्घेश्वर माध्यमिक विद्यालयको पुनः निर्माणका लागि भूमि पूजा गरिएको हो ।
हरिसिद्घि माध्यमिक विद्यालयकाे लागत २.८४ करोड रुपैयाँ र सिद्घेश्वर माध्यमिक विद्यालयको लागत ३।९६ करोड रुपैयाँको रहेको छ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्डअनुसार सो विद्यालयको पुनः निर्माण हुने बताइएको छ ।
हरिसिद्घि माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा ९ वटा कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र विद्यार्थीका लागि छुट्टाछुट्टै सरसफाइ संरचनाको सुविधा हुनेछ । त्यस्तै, सिद्घेश्वर माध्यमिक विद्यालयको तीन तल्ले नयाँ संरचनामा १३ वटा कक्षा कोठा, लेखा, प्रधानाध्यापक र अध्यापकका लागि कक्ष, परीक्षा कक्ष, प्रारम्भिक बालविकास कक्ष, प्रशासनिक कक्ष, विद्यालय व्यवस्थापन समिति कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै शौचालय बन्ने छन् । ती विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) रुड्कीले प्राविधिक सहयोग प्रदान गर्ने भएको छ ।
०७२ सालको भूकम्पले क्षति पुर्याएका नेपालका ८ जिल्लाका कुल ७१ वटा शैक्षिक संस्थाको पुनः र्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर (नेपाली करिब ५।८ अर्ब रुपैयाँ) आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त भूमि पूजासँगै ७० वटा विद्यालयको पुनर्निर्माण सुरु भएको छ जसमध्ये ८ वटा विद्यालयहरु सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण भइसकेको छ ।
साथै स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवासका क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले थप २ सय मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको छ । ५० हजार घरमध्ये अहिलेसम्म गोरखा र नुवाकोट जिल्लामा ४७ हजार घर निर्माण भइसकेका छन् । बाँकी घर निर्माण भइरहेका छन् ।
भारतको आर्थिक सहयोगमा २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएका ११ जिल्लाका २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना तथा सबलीकरण र १ सय ४७ वटा स्वास्थ्य भवनको निर्माण भइरहेको छ ।
उक्त विद्यालयको भवन पुनः निर्माण सुभारम्भ कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरलगायत उपस्थित रहेका थिए ।