काठमाडौं । भारतीय अनुदान सहयोगमा हुलाकी राजमार्गमा १० वटा सहायक सडक खण्ड निर्माण पूरा भएका छन । सन् २०१६ मा भारतले ती सडक निर्माणका लागि अनुदान दिने गरेको प्रतिवद्धताअनुसार काम अघि बढेको थियो ।
४ वर्षको अवधिमा हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्ग जोड्ने गरी ती सहायक सडक निर्माण पूरा भएका हुन । सडक खण्ड निर्माण पूरा भएपछि भारतले नेपाललाई बुधबार हस्तान्तरण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी १० वटा सडक खण्ड नेपाल हस्तान्तरण गरेको छ ।
खासगरी, ७९ करोड रुपैयाँ लागतमा लमही–कोइलाबास(दाङ), १ अर्बको लागतमा वीरगन्ज–ठोरीको दोस्रो प्याकेज, २८ करोडमा मन्मत–कलैया–मोतिहारी(बारा), ९७ करोडमा तामागढी–सिमरौनगढ, ६४ करोडमा माइस्थान–गौशालाबजार—सम्सि(महोत्तरी), ३१ करोडमा जनकपुर–एडुकुवा(धनुषा), ७७ करोडमा वीरेन्द्रबजार–एडुकुवा–मैनाथपुर, ८० करोडमा जलेश्वर–हर्दि(महोत्तरी), ६५ करोडमा कल्याणपुर–बसाईन–सुगरन्पट्टी(सिराहा) र ७२ करोडमा कानेपोखरी–रङ्गेली(मोरङ) सडक खण्ड निर्माण पूरा भएको छ ।
भारत सरकारको ८ अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माण सुरु भएका ती सडक खण्ड अधिकांश भारतीय नाकासम्म जोडिएको हुलाकी राजमार्ग आयोजनाका निर्देशक रोहितकुमार विश्वरालले जानकारी दिए । निर्माण भएका अधिकांश सडक खण्ड तराइका जिल्लासँग जोडिएका छन ।
ती सडक निर्माणपछि तराईका महत्वपूर्ण सहर र केन्द्र जोडिएका छन । यसले त्यहाँको आर्थिक, सामाजिक र पर्यटन क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने सडक विभागले जनाएको छ ।