गलकोट । कालीगण्डकी नदीबाट बिजुली निकाल्न यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कालीगण्डकी नदी थुनेर जलाशययुक्त आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ ।
विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत् विकास विभागका इञ्जीनियर रवि नेपालले जानकारी दिए । उनका अनुसार अहिले वातावरणीय प्रभाव मूल्याङ्कनका लागि क्षेत्र निर्धारणको काम भइरहेको छ ।
८४४ मेगावट विद्युत् उत्पादन गर्ने गरी निर्माण गर्ने भनिएको प्रस्तावित कालीगण्डकी जलाशययुक्त नेपालमै सबैभन्दा ठूलो जलविद्युत आयोजना रहेको छ । विद्युत् विकास विभाग प्रस्तावक रहेको यस आयोजनाको अहिले प्रभावित क्षेत्र, डुबान क्षेत्र, बाँध र विद्युतगृह निर्माण गर्ने क्षेत्र निर्धारणका लागि काम भइरहेको छ ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका, पर्वत जिल्लाको कुश्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजना क्षेत्र निर्धारणको काम भइरहेको अध्ययनको जिम्मा पाएको जेभी स्मेक इन्टरनेशनल अष्ट्रेलिया र जेड कन्सल्ट नेपालले जनाएका छन् ।
अहिले ७ पालिकामा प्रभावित हुनसक्ने वडा र सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्राणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीका लागि सुझाव सङ्कलनसमेत भइरहेको छ ।
आयोजना अबको ७ देखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययन भइरहेको छ । नेपालकै अन्य जलाशययुक्त जलविद्युत् आयोजनाभन्दा ठूलो, सस्तो र कम क्षति पुर्याउने उक्त आयोजना देशकै नमूना हुने र पर्यटकीय हिसाबले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिइएको प्रभावित नगरपालिका बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।
आयोजना निर्माण गर्न पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकामा बाँध बनाइने छ भने बिहादीकै वडा नं ६ मा बाँधभन्दा झण्डै ४ किलोमिटर तल विद्युतगृह निर्माण गरिने प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ । बिहादीमा २५० मिटर अग्लो बाँध बनाएर कालीगण्डकी नदी थुन्दा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ नयाँपुलसम्म पानी जम्मा हुनेछ ।
वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रभाव पार्न सक्ने क्षेत्रका रूपमा बागलुङ नगरपालिकाका १३ वडा, काठेखोला गाउँपालिकाको चार वडा, बरेङ गाउँपालिकाकोे एक, पर्वत जिल्लाको जलजला गाउँपालिकाको ८ र ९ वडा, बिहादी गाउँपालिकाको ६ वटा, पैयु गाउँपालिकाको सातवटा, मोदी गाउँपाकिलाको चारवटा र महाशिला गाउँपालिका ६ वटा, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाको दुईवटा, वालिङ नगरपालिकाको चारवटा, भिरकोट नगरपालिकाको दुईवटा, अर्जुन चौपारीको दुईवटा वडा र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको ७ र सत्यवती गाउँपालिकाको १ वडा अनुमानित गरिएको छ । रासस