काठमाडौं । आज (आईतबार) देखि मेलम्चीको पानी काठमाडौं उपत्यकावासीका धारामा वितरण हुँदैछ । आइतबार साँझसम्म सुन्दरीजल प्रशोधन केन्द्र हुँदै पहिलो चरणमा ४ करोड लिटर पानी उपत्यकाका महांकाल, मीनभवन, अनामनगर र खुमलटारका क्षेत्रमा वितरण गर्ने मेलम्ची खानेपानी आयोजना निर्देशनालयका निर्देशक कमल श्रेष्ठले क्यापिटल नेपाललाई जानकारी दिए ।
उनका अनुसार, महांकाल चौरबाट त्यस क्षेत्रका पाइप तथा धारामा दिउँसोसम्म पानी वितरण हुनेछ । मीनभवन र अनामनगरमा पानी ‘फ्रसिङ’ काम सकिनासाथ त्यहाँको प्रशोधन केन्द्र हुँदै धारामा पानी छाडिने श्रेष्ठले बताए । त्यहाँबाट पानी वितरण गर्दा २÷३ घण्टा थप समय लाग्नेछ । खुमलटार रिजर्भवायर ट्यांकीसम्म पानी पुगिसकेको छ ।
आइतबार बेलुकासम्म खुमलटारबाट पनि मेलम्चीको पानी आपूर्तिको तयारी भइसकेको श्रेष्ठ बताउँछन् । आइतबार र सोमबार ४ करोड लिटर पानी वितरण हुने, मंगलबार थप साढे ६ करोड लिटर पानी बालाजु संकलन केन्द्रमा पानी थपिनेछ । त्यस क्षेत्रमा पनि पानी वितरण हुनेछ ।
बिहीबारसम्म साढे ८ करोड लिटर पानी ल्याएर पानीपोखरी र बाँसबारीको ट्यांकीमा पानी भरेर वितरणको योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।
यो पनि हेर्नुहोस
८० हजार धारामा मेलम्चीको पानी, यी क्षेत्रमा वितरण हुने
यसअघि चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट विधिवत धाराको टुटी खोलेर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । तर, स्थायी रूपमा धारा नबनिसकेको र परीक्षणकै अवस्था भएकाले केही दिन ढिला गरी उद्घाटन हुने केयूकेएलले जनाएको छ ।
भृकुटीमण्डप क्षेत्रमा रहेको समाजकल्याण परिषद्को परिसरमा स्थायी धारा निर्माणको काम हुँदैछ । उक्त शिलालेखसहितको धारा बनिसकेपछि राष्ट्रपतिले विधिवत उद्घाटन गर्ने जनाइएको छ । तर, हाललाई परीक्षणकै रूपमा पानी वितरण हुनेछ ।
आइतबारदेखि नै मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्रका ८० हजार धारामा वितरण सुरु हुनेछ । मेलम्चीबाट पहिलो चरणमा आपूर्ति हुने १७ करोड लिटर पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले तयारी पूरा गरिसकेकौ जनाएको छ । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट विभिन्न ४ वटा ठूला पोखरीहरूमा पानी आइतबार भरेर साँझसम्म वितरण हुनेछ ।
यो पनि हेर्नुहोस
३१ अर्ब खर्चेर मेलम्चीको पानी काठमाडौंमा, अब दैनिक धारामा पानी
चरणबद्ध रूपमा पानीको मात्रा थप्दै लगिने पाइप परीक्षण गर्दै वितरण हुने केयूकेएलले जनाएको छ । सुरुमा परीक्षणको रूपमा उपभोक्ताका धारामा पानी पठाइने र पुनः सुरुङमार्ग खाली गरेर स्थायी रूपमा पानी वितरण हुने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मिलन शाक्यले बताए । ९ दिनमा मुस्किलले एकपटक धारामा पानी दिँदै आएको केयूकेएलले मेलम्चीको पानी थपिएपछि दैनिक एक पटक धारामा दिनेछ ।
एउटा धाराबाट कम्तीमा १० जना उपभोक्ताले पानी उपयोग गर्ने केयूकेएलको अनुमान छ । यस हिसावले ८० हजार धाराबाट ८ लाखभन्दा बढी उपत्यकावासी लाभान्वित हुनेछन् ।
यो पनि हेर्नुहोस
मेलम्ची आए पनि उपत्यकामा १८ करोड लिटर पानी अपुग, वितरणको जुर्यो साइत
अहिले केयूकेएलले उपत्यकामा ८ करोड लिटर पानी वितरण गर्दै आएको छ । मेलम्चीको पहिलो चरणमा १७ करोड लिटर पानी थपिँदा उपत्यकाबासीलाई २५ करोड लिटर हुनेछ । काठमाडौं उपत्यकामा हाल ४३ करोड लिटर पानीको माग रहेको केयूकेएल बताउँछ ।
मेलम्चीको पानी पुरानै पाइपलाइन र धाराबाट वितरण हुँदा आउने सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न केयूकेएलले जनशक्ति तयारी अवस्थामा राखेको छ । खासगरी पुराना पाइपबाट पानी लिकेज हुने संभावना भएकाले तत्काल मर्मत गर्न अनुगमन टोली र ‘र्यापिड रेस्पोन्स टिम’ खटाइएको शाक्यले जानकारी दिए ।
सुरुमा चक्रपथभित्रका अधिकांश क्षेत्रमा पानी वितरण हुनेछ । नयाँ पाइपलाइनबाट पानी परीक्षणको काम पनि सँगसँगै अघि बढ्नेछ । मेलम्ची खानेपानी विकास समिति आयोजना निर्देशनालयले त्यसको तयारी अघि बढाएको छ ।
चक्रपथ बाहिरका उपभोक्तालाई पनि पानी वितरण गर्न पाइपको परीक्षण हुनेछ । कम्तीमा एक वर्षभित्र नयाँ पाइपलाइनमार्फत सबैजसो उपभोक्ताका धारामा पानी वितरण हुने निर्देशनालयले जनाएको छ ।