काठमाडौं । भारतबाट ८० मेगावाट बिजुली आयात बन्द हुँदा पश्चिम नेपालका अधिकाँश क्षेत्रमा अन्धकार भएको छ । सर्वसाधरणका साथै त्यस क्षेत्रमा सञ्चालित उद्योगहरु प्रभावित भएका छन ।
नेपाल विद्युत् प्राधिकरणको प्रणाली सञ्चालन विभागले सूचना जारी गर्दै महेन्द्रनगर –टनकपुर १३२ केभी प्रसारणलाइन बन्द हुने जानकारी गराएको छ । टनकपुर जलविद्युत् केन्द्र मर्मत गर्न विद्युत सेवा बन्द हुने प्राधिकरणले स्पष्ट पारेको छ ।भारतको टनकपुर जलविद्युत् केन्द्र हुँदै नेपालमा ल्याइएको ८० मेगावाट विद्युत सेवा बन्द हुनेछ ।
महेन्द्रनगर–टनकपुर १३२ केभी अन्तरदेशीय प्रशारण लाइनमार्फत आएको बिजुली अवरुद्ध हुँदा कञ्चनपूरको महेन्द्रनगर, कैलालीको अत्तरिया, पहलमानपुर, लम्की, भूरीगाउँ , बाँकेको कोहलपुर, कुसुम, दाङको लमही, शिवपुर र रुपन्देहीको बुटवल सवस्टेशनहरुबाट विद्युत् आपूर्ति हुने औद्योगिक करिडोरका उद्योग प्रभावित हुने छन् ।
विद्युत् सेवा चैत १४ गतेदेखि २० गतेसम्म एक साता अवरुद्ध हुने जारी सूचनामा जनाइएको छ । बिद्युत कटौतीले कोरोना महामारीपछि सञ्चालनमा आएका धेरै जसो उद्योग प्रत्यक्ष मारमा पर्नेछन् ।
खासगरी, भैरहवा, बुटवल, दाङ, लमही, कञ्चनपुर, नेपालगन्ज, र महेन्द्रनगर क्षेत्रका साना तथा ठूला उद्योगहरुलाई समस्या पर्नेछ ।
बिजुली आपूर्ति बन्द भए पनि कुलेखानी आयोजना सञ्चालन गरी गरी यथासम्भव बिद्युत् कटौतीको समय कम गर्न प्रयास गर्ने प्राधिकरणले जनाएको छ । कुलेखानी आयोजनाको जडित क्षमता १०५ मेगावाट छ ।
महाकाली सन्धीअनुसार नेपालले टनकपुर आयोजनाबाट वार्षिक ७ करोड युनिट बिजुली निःशुल्क पाउँदै आएको छ । प्राधिकरणले ८० मेगावाट बिजुली व्यापारिक मूल्यममा भारतको एनभीभीएन विद्युत व्यापार कम्पनीबाट खरिद गरेको हो ।