दार्चुला । निजी क्षेत्रबाट विद्युत निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युतको निकै सम्भावना बोकेको यहाँ आयोजना निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट बिजुली उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ ।
जिल्लामा आधा दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई बिजुली उत्पादनसमेत भइरहेको छ । केहीले आयोजनाको काम शुरु गर्ने तयारी गरेको छ । बाह्रैमहिना अटुटरुपमा बगिरहने चमेलिया नदी र चमेलियाका सहायक नदी, मकरिगाड, नौगाड, क्षतिगाडलगायतका खोलाबाट अहिले विद्युत् उत्पादनको थालनी भइरहेको छ ।
शैल्यशिखर नगरपालिका–१ बलाँचमा ३० मेगावाट क्षमताको चमेलिया आयोजनाले चार वर्षअघिबाट बिजुली उत्पादन शुरु गरिसकेको छ । चमेलिया जलविद्युत् आयोजना नेपाल विद्युत् प्राधिकरण, सिजीजिसी चाइना गेजुवा कम्पनी र कोरियो हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनी केएचएनपीले निर्माण गरेको हो ।
सन् २००७ देखि निर्माण शुरु गरिएको यस आयोजनाको शुरुमा ८ अर्ब रुपैयाँको लागत अनुमान गरिएको भए पनि बढेर १५ अर्ब ६० करोड रुपैयाँमा आयोजना निर्माण भएको हो । यो बिजुलीले अहिले सुदूरपश्चिम उज्यालो बनेको छ । नौगाड गाउँपालिकामा ८ मेगावाट क्षमताको अपर नौगाड र ८.५ मेघावाटको नौगाड जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई उत्पादन गरिरहेको छ । नौगाड खोलामा उत्पादन भएको बिजुली चमेलिया जलविद्युत् आयोजनाको शव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाईनमा विद्युत् जडान गरिएको छ ।
निजी क्षेत्रको अपी पावर कम्पनीले यी दुवै आयोजना निर्धारित समयमै निर्माण सकेको हो । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको आयोजनाले गत वर्षबाट बिजुली उत्पादन शुरु गरेको हो । मार्मा गाउँपालिका–२ घट्टेगाडमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ ।
अपि पावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको चार महिनाअघिबाट काम शुरु गरिएको हो । अहिले आयोजनास्थलमा निर्माणको काम तीव्र गतिमा भइरहेको अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले बताए । “अहिले सबै काम चलिरहेको छ”, उनले भने, “निर्धारित समयमै काम सक्ने योजना छ ।”
२० महिनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाले अहिले काम गरिरहेको छ । आयोजनाको कूल लागत ७ अर्ब ४० करोड रुपैयाँ छ । अपी पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो । २०५ मिटर हेड (उचाइ) रहेको आयोजनाका लागि ३.२ मिटर ब्यासको करीब छ किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।
आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सवस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लख युनिट विद्युत् उत्पादन हुनेछ । यस्तै अपी हिमाल गाउँपालिका–५ मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड आयोजना निर्माणाधीन छ । दुई वर्षभित्रै निर्माण सक्ने गरी अहिले आयोजनाको काम चलिरहेको छ ।
जिल्लामा १३.९४ मेघावाट क्षमताको क्षतिगाड जलविद्युत् आयोजना, ३५ मेगावाटको मध्यचमेलिया जलविद्युत आयोजना पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् । यस्तै यही खोला र आसपासका खोलाबाट विद्युत् निकाल्ने गरी कयौले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माणका लागि इजाजत लिने प्रक्रियामा रहेका छन् ।