काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन नेपाल आयल निगम आफैंले बनाउने भएको छ । सो पाइपलाइन पूर्वाधार बनाउन निगम आफैंले लगानी गर्ने कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
पेट्रोलियम पाइपलाइन तत्कालै बनाउनुपर्ने र विदेशी सहयोग जुटाउँदा समय लाग्ने भएकाले अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन बनाउन निगम आफैंले लगानी गर्ने उनले स्पष्टपारे ।
जतिसक्दो चाँडो पाइपलाइन जडान गर्नुपर्ने भएकाले निर्माण अवधिलाई ध्यानमा दिएर निगम आफैंले यसमा लगानी गर्ने प्रस्तावसहितको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको उनले जानकारी दिए ।
यो पनि हेर्नुहोस
अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न, ६९ किलोमिटर बनाउन १३ अर्ब लाग्ने
मन्त्रालयले सो प्रतिवेदन अध्ययन गरेर पारित गर्नुपर्ने हुन्छ । निगम आफैंले लगानी गर्ने वा अरुको सहयोग लिने भन्ने विषय मन्त्रालयले टुङ्याउनेछ । तथापी, निगमले भने आफूहरु नै यसका लागि सक्षम भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यो परियोजनालाई प्राथमिकताका साथ लिएका छन् । उनले जतिसक्दो चाँडो पाइपलाइन निर्माण गरी जडान सुरु गर्न निगमलाई निर्देशन दिँदै आएका छन् ।
पाइपलाइन निर्माणका लागि नेपाल आयल निगम र भारतीय आयल निगमका संयुक्त कार्यदलले बनाएको प्रतिवेदन मन्त्रालयमा बुझाएको भए पनि निर्माण थाल्ने मिति र लागत विवरण सार्वजनिक गरेको छैन ।
निगमका कार्यकारी निर्देशक पौडेलले १३ अर्ब रुपैयाँको सेरोफेरोमा परियोजना निर्माण गर्ने बताए पनि यतिनै लागत लाग्छ भन्ने विषय भने खुलाउन चाहेनन् । प्रतिवेदन मन्त्रालयमा अध्ययन भइरहेकाले लागत र समयको विषयमा केही दिनभित्र सार्वजनिक गर्ने उनले बताए ।
प्रतिवेदनमा चितवनको लोथरमा पेट्रोल भण्डारण गर्न १ लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याङ्की निर्माण गर्नेसमेत उल्लेख गरिएको बताइएको छ । मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने छन् ।
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त भएर जाने विश्वास निगमले लिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि निगमलाई वार्षिक डेढ अर्ब रुपैयाँ बचत हुने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
पाइपलाइनबाट पेट्रोल आपूर्ति हुन थालेपछि ट्याङ्करबाट गर्ने ढुवानीमा खर्चको बचत, प्राविधिक नोक्सानीको अन्त्य, शुद्धता कायम, चुहावट र मिसावट अन्त्य हुने उनले बताए ।
मोतिहारीदेखि रक्सौल–अमलेखगञ्जसम्म नेपाल–भारत अन्तदेशीय पेट्रोलियम पाइपलाइनबाट अहिले डिजेल आउने गरेको छ । सो परियोजना नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको हो ।
नेपालको लाइफलाइनको रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइपलाइनबाट पेट्रोल ल्याउने सम्पूर्ण काम पूरा भएपछि प्राविधिक जाँच गरी एक वर्षभित्रै सञ्चालनमा आउनेछ ।