काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले भारतको चाहना नेपाल, भुटान, बंगलादेश र म्यानमारलाई समेटेर ‘ऊर्जा हब’ बनाउने रहेको बताएका छन् ।
दक्षिण एसिया ऊर्जा समूहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रींगलाले उक्त देशलाई ऊर्जा हब बनाउन भारतले काम थालेको बताएका हुन् । जलवायु परिवर्तनको प्रभाव र चुनौतीका बाबजुत उपक्षेत्रको रूपमा यी देशलाई विकसित क्षेत्र बनाएर जलवायु परिवर्तनका चुनौतीबारे बुझ्नु भारत सरकारको योजना छ ।
ऊर्जालाई सस्तो, सुलभ र स्वच्छ बनाउनु पर्ने विदेशसचिव श्रींगलाको भनाइ छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण भइसकेको छ ।
उक्त पाइपलाइनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को सेप्टेम्बरमा संयुक्त रूपमा गरेका थिए । पाइपलाइन सुरू भएपछि नेपाललाई पेट्रोलियम पदार्थ आयातमा एक अर्ब ६० लाख रूपैयाँ बचत हुन्छ ।
श्रींगलाले भने, “हामीले चितवनसम्म यो परियोजना (पेट्रोलियम पाइपलाइन) विस्तार गर्ने तयारी गर्दैछौँ । साथै सिलगुडी र नेपालको झापालाई जोड्ने नयाँ पाइपलाइनको निर्माण पनि गरिरहेका छौं ।”
सन् २०१९ मा भारतले २५ वटा प्रसारणलाइनमार्फत् ७ सय मेगावाट विद्युत् नेपालमा निर्यात गरेको उनको दाबी छ । श्रींगलाका अनुसार नेपालले पनि निकट भविष्यमा विद्युत् निर्यात गर्न सक्छ । भारतीय सहयोगमा नेपालको ढल्केबरदेखि भारतको
मुजफ्फरपुरसम्म उच्च क्षमताको अन्तरदेशीय विद्युत् प्रसारणलाइन निर्माण कार्य सम्पन्नक भएको छ । उक्त प्रसारणलाइनको ४ सय केभी क्षमता हो । उत्पादन क्षेत्रतर्फ भारतको सतलज जलविद्युत् निगम लिमिटेडले नेपालमा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विकास गरिरहेको छ ।
साथै नेपाल र भारतबीच उच्च क्षमताको थप विद्युत् प्रसारणलाइन विस्तार गर्नेतर्फ दुवै देशको सोच रहेको श्रींगलाले बताए । जीएमआरको नेतृत्वमा पश्चि म नेपालमा ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली परियोजना निर्माण कार्य भइरहेको छ ।
भारत र बंगलादेशसँग प्राकृतिक ग्यास र कोइलाको ठूलो मात्रा रहेको छ भने नेपाल र भुटानसँग जलविद्युतको ठूलो सम्भावना रहेकाे छ । माथिल्लो कर्णाली परियोजनाबाट नेपालले भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न सक्ने श्रींगलाको भनाइ छ ।