काठमाडौं । जीवन बिमालेख बाहकलाई दिइने बोनस दर निर्धारण नगरी बिमितको मृत्यु भएमा त्यस्तो बिमितका परिवारलाई कसरी दाबी भुक्तानी दिइन्छ होला ? धेरैको मनमा खड्किएको विषय हो ।
खासगरी नयाँ बिमा कम्पनीमा बिमा गरेका बिमितहरूको मृत्यु भएमा बोनस दर कस्तो हुन्छ र भुक्तानी प्रक्रिया के हुन्छ भन्ने कुरामा अन्योलता देखिन्छ । तर, व्यावहारिक रूपमा भने त्यस्तो अन्योलता पाइँदैन ।
तर, दाबी भुक्तानी प्रक्रिया केही झन्झटिलो भने लाग्न सक्छ । बोनस दर निर्धारण नभएको अवस्थामा तत्कालै दाबी भुक्तानी दिँदा बिमाङ्क रकम दिने र बोनस दर निर्धारण गरेपछि बोनसवापतको रकम दिने गरिन्छ ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीहरूले पहिलो पटक बोनस दर घोषणा नगर्दै बिमितको मृत्यु भएमा आश्रित परिवारले बिमाङ्क रकम तुरुन्तै पाउने र बोनस रकम भने घोषणा भएपछि दिइने बताए । उनले बोनस दर घोषणा नभएको अवस्थामा रकम पाउनका लागि केही समय पर्खिनुको विकल्प नभएको बताए ।
उदाहरणका लागि कसैले २ लाख रुपैयाँ (बिमाङ्क रकम)को बिमा गरेको थियो तर, त्यो व्यक्ति कम्पनीले बोनस दर निर्धारण नहुँदै कुनै कारणवस मृत्यु भयो भने उसका आश्रितले दाबी भुक्तानीवापत सुरुमा बिमाङ्क रकमबराबर अर्थात् २ लाख रुपैयाँ दाबी भुक्तानी पाउँछ भने बोनस दर घोषणापछि बिमा गरेको कति अवधि भयो त्यति अवधिको बोनस दिने प्रचलन छ ।
त्यसका लागि आश्रित परिवार २ पटक कम्पनीको सम्पर्कमा जानुपर्ने हुन्छ । यस्तो अवस्था नयाँ कम्पनीका लागि मात्रै होइन पुरानै तर, पछिल्लो वर्षको बोनस दर निर्धारण नभएका कम्पनीमा पनि लागू हुन्छ । जस्तै एक दसकदेखि सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानले प्रतिहजार ६५ रुपैयाँका दरले अन्तरिम बोनसका रूपमा बिमितहरूको दाबी भुक्तानी गर्दै आएको छ ।
अन्तरिम भनेर विगतमा घोषणा भई कार्यान्वयनमा आइसकेको तर, पछिल्लो वर्षको बोनस दर निर्धारण नभएको अवस्थालाई बुझिन्छ । अन्तरिम बोनस दरभन्दा घोषित बोनस दर समान वा बढी हुनुपर्छ भन्ने सामान्य मान्यता छ ।
अन्तरिम बोनस दिइसकेको तर, पछि बोनस दर घटेको खण्डमा भुक्तानी भइसकेको रकम फिर्ता लिन सम्भव हुँदैन । यसमा कानुनी र व्यावहारिक समस्या पनि आउन सक्छ । तर, अन्तरिम बोनस दरभन्दा घोषित बोनस दर बढेको खण्डमा भने बढी भएको बोनस रकम फेरि लिन सकिन्छ ।
सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले पनि जीवन बोनस दर निर्धारण नगरेको अवस्थामा बिमितको मृत्यु भएमा कम्पनीले तत्कालै बिमाङ्क रकमबराबरको मृत्यु दाबी दिने तर, बोनसका लागि भने बोनस दर तोक्ने अवधिसम्म पर्खिनुपर्ने बताए । उनले अन्तरिम बोनसको अवधारणा पनि करिब उस्तै भएको सीईओ पोषकको भनाइ छ ।
खासगरी जीवन बिमा व्यवसाय नाफामा सरिक भएर त्यसैका आधारमा बोनस लिने प्रकृतिको हुन्छ । बिमा कम्पनीहरूले बिमांकीय मूल्यांकन (एक्चुरियल भ्यालुयसन) गरेर बिमा प्रडक्ट र बिमा अवधिका आधारमा बोनस दर निर्धारण गर्न पाउँछन् । नेपालमा हाल १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । सबै कम्पनीहरूको एक चरणको बोनस दर निर्धारण गरिसकेका छन् ।