काठमाडौं । सनराइज बैंकले डिजिटल बैंकिङ कारोबारअन्तर्गत कैलालीको धनगढीस्थित त्रिनगर कृषि हाटबजारमा क्युआर कोडबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।
बैंकले तरकारी, फलफूल र किराना पसलदेखि सार्वजनिक सवारीमा पनि क्युआर कोड लागू गरेको हो । नगद रहित कारोबारलाई बढाउँदै लगिने उद्देश्यका साथ बैंकले क्युआर कोड सेवा विस्तार गरेको हो ।
बैंकले प्रदान गरेको क्युआर कोड प्रणलीलाई उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर वडले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो साथै सर्वसाधारणको पहुँचसम्म पुर्याउने अभियान सुरु गरेको बताए । त्यसमा उप–महानगरले पनि अभियानलाई थप विस्तार गर्ने उनले बताए ।
बैंक वित्तीय संस्थाहरुले क्युआर कोड सेवा विस्तारमा अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । डिजिटल प्रक्रियाबाट रकम भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने भएकाले यो प्रणालीलाई सहज मानिएको छ ।
त्यस्तै, त्रिनगर कृषि हाटबजार व्यवस्थापन समिति धनगढीका अध्यक्ष भवानी सिं चैसिरले कृषि हाटबजारमा तरकारी तथा फलफूल खरिद बिक्री गर्न आउने व्यक्तिहरुले डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न सक्ने बताएका छन् ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्पबहादुर वड, सनराइज बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्रबहादुर शाही, त्रिनगर कृषि हाटबजार व्यवस्थापन समिति धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशील सामाजका कोषाध्यक्ष गणेश विक, शाखा प्रबन्धक धर्मकुमार विष्टलगायत बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।