काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको अध्यक्षमा पवनकुमार गोल्यान निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम वार्षिक साधारणसभाले गोल्यानको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्ष्मा भोजबहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा केशवबहादुर रायमाझी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली, सह–कोषाध्यक्षमा मनोजकुमार केडिया र सदस्यहरुमा पृथ्वीबहादुृर पाण्डे, तुलसीप्रसाद गौतम, इच्छाराम तामाङ, उपेनद्र केशरी न्यौपाने, महेशकुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान छन् ।
नवनिर्वाचित अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई वर्षमा गरिने विषयहरुबारे जानकारी गराउँदै संस्थालाई राष्ट्रकै अभिन्न अंगको रुपमा स्थापित गरी समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाक रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट्र निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौं साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसर सिर्जना गरिनेछ ।’
साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंक तथा वित्तिय संस्था परिसंघले उठाएका विषयमा सरकारले उचित तरिकाले सम्बोधन गर्ने आश्वासन दिएका थिए ।