बझाङ । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको केन्द्र बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौंँ आयोजना निर्माणाधीन छन् भने कतिपय निर्माण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ ।
जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ । बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालङ्गा, बूढीगङ्गालगायत अन्य साना नदीबाट हजारौं मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।
बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी र बाजुरामा केही जलविद्युत् आयोजना निमार्णाधीन छन् । कतिपय जिल्लामा आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माण शुरु हुने अवस्था छ ।
यसरी काम शुरु भइसकेको र सम्भाव्यता अध्ययन भइरहेका आयोजनाको काम समयमै सम्पन्न भए सुदूरपश्चिम प्रदेश देशकै सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने प्रदेशका रूपमा परिचित हुने उज्यालो सुदूरपश्चिमका अभियानकर्मी तथा कालङ्गा जलविद्युत् आयोजनाका संस्थापक वीरेन्द्र मल्लले जानकारी दिए।
बझाङमा मात्रै झण्डै एक दर्जन जलविद्युत् आयोजना निमार्णका चरणमा छन् । निजी क्षेत्रको लगानीबाट निर्माणाधीन प्रदेशकै सबैभन्दा ठूलो आयोजना कालङ्गा आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले चैतभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।
बुङ्गल क्षेत्रको कालङ्गा नदीमा तीन अलगअलग ठाउँबाट निर्माण शुरु गरिएको १० मेगावाटको कालङ्गा आयोजना, ३८.४६ मेगावाटको माथिल्लो कालङ्गा आयोजना र १६ मेगावाटको सानीगाड जलविद्युत् आयोजना गरी ६५ मेगावाट आयोजनाको काम अन्तिम चरणमा छ । निर्माण कम्पनीले आउने दशैंँसम्म सबै आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने तयारीमा रहेकोे जनाएको छ ।
जिल्ला सदरमुकाम चैनपुर नजिकै सुर्मा गाउँपालिकाको ढोगडीमा एक मेगावाट क्षमताको जेउलीगाड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भई बझाङमा वितरण भइसकेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बलाँचस्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरिसकेको छ । चमेलिया आयोजना नेपाल विद्युत् प्राधिकरण, सिजीजिसी चाइना गेजुवा कम्पनी र कोरियो हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनी केएचएनपीले निर्माण गरेका हुन् ।
सन् २००७ देखि निर्माण शुरु गरिएको सो आयोजनाको शुरुमा ८ अर्ब रूपैयाँ लागत अनुमान गरिए पनि झण्डै १५ अर्ब ६० करोड रूपैयाँमा निर्माण भएको हो । दार्चुलाकै नौगाड गाउँपलिकामा ८ मेगावाट क्षमताको माथिल्लो नौगाड र ८।५ मेगावाटको नौगाड जलविद्युत् आयोजना पनि निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरु भइसकेको छ ।
विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको आयोजनाले गत वर्षदेखि विद्युत् उत्पादन शुरु गरेको हो । बझाङकै तल्कोट गाउँपालिकाको सुनिगाड खोलाबाट चार वर्षभित्र उत्पादन गर्ने गरी २५ मेगावाटको अर्को आयोजना पनि निर्माणाधीन छ ।
तल्लो सुनिगाडबाट १७ मेगावाट र उपल्लो सुनिगाडबाट ८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ओमेगा इनर्जी डेभलपर प्रालिले निर्माण शुरु गरेको छ । सो आयोजनाका लागि आयोजनास्थलसम्म सडक निर्माण गर्ने काम सकिएको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारको काम भइरहेको कम्पनीले जनाएको छ ।
यस्तै सुदूरपश्चिममा दर्जनौँ परियोजना विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माणका लागि इजाजत लिने प्रक्रियामा छन् । कतिपय आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माणका लागि बोलपत्रको प्रक्रिया चलेको छ । नेपाल विद्युत् प्राधिकरण आफैंले निर्माण गर्ने गरी तल्कोट गाउँपालिकामै २१० मेगावाटको चैनपुर सेतीखोला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन पूरा भई निर्माणको तयारीमा छ ।
चिलिमे हाइड्रोपावरले पनि सेती नदीमै १६५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजना निर्माणको तयारीमा छ । त्यस्तै साइपाल गाउँपालिकामा निर्माण हुने माथिल्लो सेती १४० मेगावाटको आयोजनाका लागि निजी क्षेत्रकै समृद्धि हाइड्रोपावर कम्पनीले प्रक्रिया अघि बढाएको छ । दार्चुलाकै मार्मा क्षेत्रमा निजी क्षेत्रकै लगानीमा सुदूरपश्चिम प्रदेशकै दोस्रो ठूलो ६० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना पनि निमार्णधीन छ । अपि हाइड्रो प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको चार महिना अघिदेखि काम शुरु भएको छ ।
डोटी जिल्लामा १.५५ मेगावाट क्षमताको माथिल्लो गडिगाड जलविद्युत् तथा अछाममा निर्माण हुने २० मेगावाट क्षमताको बूढीगङ्गा अर्धजलाशययुक्त जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा छन् । विस्तृत परियोजना अध्ययन सक्नाका साथै पहुँचमार्ग, पुल, आयोजनास्थलमा भवन निर्माण र मुआब्जा वितरणका काम सकेर केही महिनामै निर्माण शुरु हुने आयोजना प्रमुख सूर्यप्रसाद रिजालले बर्ताए ।
सरकार आफैंँले निर्माण गर्ने गरी २०५२ सालदेखि नै सम्भाव्यता अध्ययन शुरु गरेको आयोजनाको निर्माणका लागि करीब रु ६ अर्ब अर्थात् ६० मिलियन अमेरिकी डलर खर्चको अनुमान गरिएको छ । बेतन कर्णाली हाइड्रोले अछाममै ४३९ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निमार्ण गर्ने भएको छ ।
सो आयोजना निर्माणका लागि कम्पनीले सम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । बाजुरामा ४.५ मेगावाटको बडिगाड जलविद्युत् आयोजना निर्माण गर्ने गरी प्रक्रिया शुरु गरेको छ । पायोनियर हाइड्रोले सम्भाव्यता अध्ययन पूरा गरेर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।
त्यस्तै पाँच मेगावाट क्षमताको बूढीगङ्गा जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा छ ।
रिलायवल हाइड्रो कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । पहिलो चरणको काम सकेर निर्माण कम्पनी अघि बढेको छ । दार्चुलामा १३.९४ मेगावाट क्षमताको आयुछटी गाड जलविद्युत् आयोजना, ३५ मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना र १० मेगावाटको मकरीगाड जलविद्युत् आयोजनाले पनि निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाएका छन् ।