काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) ले ऊर्जा व्यापार प्रावधानसहति विद्युत् विधेयक तत्काल पारित गर्न सरकारलाई आग्रह गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै इप्पानले नेपालले क्षेत्रीय विद्युत् व्यापारलाई पूर्णता दिन मन्त्रालय र विद्युत् नियमन आयोगले ‘गाइडलाइन’ र नियमन गर्नुपर्ने बताए ।
त्यस्तै, निजी ऊर्जा क्षेत्रका पहलमा स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेडलाई ऊर्जा व्यापारका लागि आवश्यक स्वीकृति दिई अनुकूल वातावरण सिर्जना गर्न सरकारलाई आग्रह गरेको छ ।
त्यस्तै, नेपाल र भारतबीचको संयुक्त संयन्त्रको आगामी बैठक ऊर्जा व्यापारसम्बन्धी बाँकी रहेका विषयलाई कार्यान्वयनको दिशामा अगाडि बढाउने र नेपाल, भारत र बंगलादेशको समेत त्रिदेशीय संयन्त्र सिजर्न गर्न आग्रह गरेको छ ।
हरित र भरपर्दो जलविद्युतको उत्पादन लागत घटाउनका लागि विगतमा घोषणा भएका भ्याट छुट प्रदान गर्ने, क्यू४५ को प्रावधान हटाउने, ५० वर्षको उत्पादन अनुमतिपत्र प्रदान गर्ने, ब्याजदरमा सहुलियत दिने, प्रसारण लाइन र पहुँचमार्गको व्यवस्थ सरकारले नै गर्नुपर्ने इप्पान नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । उनले विद्युुत व्यापारसम्बन्धी संयन्त्रमा अनिवार्य रुपमा इप्पानको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे ।
आन्तरिक ऊर्जा खपत बढाउन इन्डक्सन चुल्हो र विद्युतीय सवारीमा सहुलियतको व्यवस्था गर्ने र नेपाली उद्योग तथा कलकारखानालाई सहुलियत दरमा बिद्युत् उपलव्ध गराउन सरकारसँग इप्पानले आग्रह गरेको छ ।
कार्यक्रममा इप्पानका उपाध्यक्ष आशिस गर्गले ऊर्जा खपतका लागि क्षेत्रीय ऊर्जा व्यापारको बाटो छिट्टै खुल्नुपर्ने बताए । उनले देशमा ऊर्जाको माग नबढ्ने र क्षेत्रीय व्यापार नहुने अवस्थामा उत्पादित बिजुली खेर गई अर्थतन्त्रमा संकट आउने उनको भनाइ छ ।