काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको निर्माण सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजनाको बिहीबार शिलान्यास गरेका छन् ।
पूर्वतयारीको काम सम्पन्न भई परियोजना निर्माण विधिवत रूपमा अघि बढेको छ । सिन्धुली र रामेछापमा निर्माण हुने सो परियोजनाबाट कृषियोग्य जमिनको सिँचाइसँगै ३१ मेगावाट विद्युत् पनि उत्पादन हुनेछ । परियोजनाले बागमती प्रदेश र २ नम्बर प्रदेशलाई जोड्नेछ ।
करिब १३ किलोमिटर लामो सुरुङमार्गबाट सुनकोसीको पानी खसालेर थप तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा गरी थप ७७ हजार हेक्टर खेतीयोग्य जमिन सिँचाइ गर्ने लक्ष्य छ । सुरुङमार्ग निर्माणका लागि ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
परियोजनाले सम्पूर्ण पूर्वतयारीका काम सम्पन्न गरी औपचारिक रूपमा निर्माण कार्य थालनी गरेको सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले बताए ।सरकारले आफ्नै लगानीमा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ । आयोजना आर्थिक वर्ष २०८२/०८३ सम्म आयोजना निर्माण गरिसक्ने समय सीमा तय गरिएको उनले जानकारी दिए ।
खासगरी, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायतका ५ जिल्लामा खेतीयोग्य जमिनको सिँचाइ हुनेछ । बागमती प्रदेशको पानी सुरुङमार्फत खसालेर प्रदेश नम्बर २ का जिल्लामा सिँचाइ सुविधा पुग्नेछ ।
परियोजना सम्पन्न भएपछि कुल १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ हुनेछ । यसअघि बागमती सिँचाइ आयोजनाबाट ४५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।
सुरुङमार्फत खसालिने पानी सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा विद्युतगृह निर्माण गरी ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । कुल १५० मिटर अग्लो बाँध निर्माण गरी सुरुङको भित्रि भाग ५.५ चौडाइ हुनेछ । त्यहाँ उत्पादित बिजुली ४४ किलोमिटर प्रसारणलाइनबाट सर्लाहीको नवलपरमा बन्दै गरेको सबस्टेसनमा जोडिनेछ । परियोजना सिन्धुलीको खुर्कोटभन्दा २ किलोमिटर माथि प्रस्ताव गरिएको छ ।
यो भेरी बबई पछिको दोस्रो ठूलो डाइभर्सन परियोजना हो । परियोजना निर्माणपछि कुल १० अर्ब रुपैयाँ आम्दानी हुने महानिर्देशक राजभण्डारीले बताए । उनले जलविद्युत् आयोजनाबाट वार्षिक २ अर्ब ७० करोड र सिँचाइतर्फबाट ७ अर्ब रुपैयाँ आम्दानी हुनेछ ।
यो आयोजना मुख्य रूपमा सिँचाइमा केन्द्रित छ । तर, पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
मरिणमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ । यो आयोजना बनेपछि सुनकोसीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनणमा झर्नेछ ।
सरकारले गत आर्थिक वर्षमै ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गर्ने बजेटमार्फत नै घोषणा गरी बजेट छुट्याएको छ । परियोजना निर्माण थाल्न चालू आवमा सरकारले २ अर्ब ८ करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको छ ।
परियोजना निर्माण स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको लक्ष्य छ । स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाटै व्यवस्थापन गरेर मुआब्जा वितरण लगायतका काम अघि बढाएको छ ।
परियोजना निर्माण सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने छ । भेरी–बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिँचाइ विभागले सुनकोसी मरिणमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको हो ।