काठमाडौं । सरकारका विभिन्न मन्त्रालयका पाँच सचिवले सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अवलोकन गरेका छन ।
सेनाको हेलिकप्टरबाट आज बाँध निर्माणस्थल फ्क्सिन्दा र विद्युतगृह निर्माणस्थल दिदिङको पुखुवा पुगेर उनीहरुले अरुण तेस्रोको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।
गृहसचिव महेश्वर न्यौपाने, ऊर्जासचिव दिनेशकुमार घिमिरे, परराष्ट्रसचिव भरतराज पौड्याल, अर्थसचिव शिशिरकुमार ढुङ्गाना, रक्षा सचिव रेश्मीराज पाण्डे र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टको टोलीले अरुण तेस्रोको स्थलगत अवलोकन गरेको हो ।
उनीहरुले भारतीय निर्माण कम्पनी सतलज जलविद्युत् निगमले पछिल्लोपटक निर्माणको जिम्मा पाएको तल्लो अरुणको पनि अवलोकन गरेका थिए ।
अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका सिइओ अरुण धिमानले विद्युतगृहस्थल पुखुवामा निर्माण भइरहेको सुरुङमार्ग र विद्युतगृहका लागि निर्माण हुन लागेको अन्डरग्राउण्ड भवनका बारेमा जानकारी गराएका थिए ।
उनलेले तोकिएकै समयमा विद्युत् उत्पादन गर्ने जानकारी गराए। आयोजनाको परियोजना निर्माणको करीब ४० प्रतिशत काम सम्पन्न भैसकेको छ ।परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ ।
चिचिला गाउँपालिकाको छ्याङकुटीदेखि दिदिङस्थित विद्युतगृहसम्म जाने सडक एसजेभीएन कम्पनीले निर्माण गरिसकिएको छ । छ्याङकुटीदेखि चिचिला–३ पुखुवास्थित दिदिङसम्मको २८.६९ किलोमिटरको सडक निर्माण सम्पन्न भएको छ ।
परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा शिलान्यास गरेका थिए। बाँधस्थलमा जयप्रकाश एशोसियट्स निर्माण कम्पनी तथा विद्युत्–गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।